राप्रपाले देशव्यापी रुपमा आन्दोलन गर्ने
SamacharDesk | २०८० फाल्गुण ८, मंगलबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवारबाट देशव्यापी रुपमा आन्दोलन गर्ने जनाएको छ ।
राज्य पूर्ण रुपमा असफल भइसकेकोले राप्रपाको आन्दोलन सीमित उद्देश्यको लागि मात्र नभई व्यवस्था र अवस्था नै परिवर्तन गर्नका लागि आन्दोलन गर्न लागिएको जनाएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राप्रपा उपनेता बुद्धिमान तामाङले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गर्नुभयो ।
उहाँले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तन, मंहगी नियन्त्रण जस्तो सीमित उद्देश्यका लागि आन्दोलन नभएको बताउनु भयो । उहाँले पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र आन्दोलन भएकाले सबैलाई सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो ।
राप्रपाका अर्का नेता तथा सांसद धवल शमशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन शुरु गर्न लागेको बताउनु भयो ।
उहाँले व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नका लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो । आफूहरुको लक्ष्य प्राप्ति नभएसम्म आन्दोलन जारी रहने पनि सांसद शमशेरले बताउनुभयो ।
उहाँले पार्टीसँग विचारधारा मिल्ने पार्टी, समूह, अभियन्तालाई समेटेर आन्दोलन अघि बढाउने उहाँले बताउनु भयो ।
Categorized in राष्ट्रिय