arin enterprises

दिगो विकाससम्बन्धी एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित

SamacharDesk | २०८० फाल्गुण ८, मंगलबार

नेपाल दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा निर्वाचित भएको छ ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गत बैङ्ककस्थित एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा मंगलबारदेखि शुरु भएको भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ निर्वाचित हुनु भएको हो ।

जापानले उपाध्यक्ष श्रेष्ठलाई मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेको थियो भने बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधिले समर्थन गरेका थिए ।

उपाध्यक्ष श्रेष्ठले मञ्चको अध्यक्ष निर्वाचित भएपश्चात् कार्यक्रममा उपस्थित सबै सदस्य राष्ट्रका प्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेको आयोगले जनाएको छ ।

मञ्चमा अन्तर्राष्ट्रिय साझा एजेण्डाका रुपमा रहेका दिगो विकास लक्ष्यमा यस क्षेत्रका राष्ट्रले गरेको प्रगतिको समीक्षा गरिनुका साथै आगामी दिनमा लिनुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल हुँदैछ ।

चार दिनसम्म चल्ने छलफल दिगो विकास लक्ष्य १, २, १३, १६ र १७ मा केन्द्रित रहने आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

छलफलमा भएको सहमतिका आधारमा एसिया प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्य कार्यान्वनमा प्राप्त भएको सफलता र चुनौतीका सन्दर्भमा सन् २०२४ को जुलाईमा हुने संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय राजनीतिक मञ्चमा प्रतिवेदन पेस हुनेछ ।

Categorized in राष्ट्रिय