भारतका विभिन्न राज्यमा कटन क्यान्डी बिक्रीमा रोक
SamacharDesk | २०८० फाल्गुण १३, आइतबार

भारत सरकारले भारतका केही राज्यमा कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लागाएको छ । कटन क्यान्डीमा क्यान्सर गराउन सक्ने तत्व भेटेपछि भारत सरकारले केहि राज्यमा यसको बिक्रीमा प्रतिबन्ध लगाएको हो ।
गत साता मात्रै दक्षिण भारतीय राज्य तमिलनाडुले कटन क्यान्डी बेच्न रोक लगाउने निर्णय गरेको थियो । उक्त राज्यमा परीक्षणका लागि प्रयोगशाला पठाइएका कडन क्याण्डीका नमुनाहरुमा क्यान्सर लगाउन सक्ने तत्त्व ‘रोडमाइन–बी’ भेटिएपछि कटन क्यान्डीको बिक्रीमाथि प्रतिबन्ध लगाइएको हो ।
तमिलनाडुमा कटन क्यान्डी ब्रिकीमा प्रतिबन्ध लगाउँदै त्यहाँका स्वास्थ्यमन्त्री मा सुब्रमण्यमले एउटा विज्ञप्ति निकालेका छन् ।
“प्याकिङ, आयात, खानेकुराको बिक्री र विवाह वा अन्य सार्वजनिक समारोहमा वितरण हुने खानेकुरामा रोडमाइन–बी नामक रसायन पदार्थ पाइएमा खाद्य सुरक्षा तथा मापदण्ड ऐन–२००६ अनुसार दण्डनीय हुने छ,” विज्ञप्तिमा लेखिएको छ ।
तमिलनाडुको सिको गर्दै छिमेकी राज्य आन्ध्र प्रदेशले पनि कटन क्यान्डीका नमुनाहरू संकलन गरेर क्यान्सर लगाउन सक्ने कारकहरुको जाँच गर्न थालेको बताइएको छ ।
कटन क्यान्डीमा रङ्ग दिन प्रयोग हुने रोडमाइन–बी नामक रासायनिक पदार्थ कपडाहरु रंगाउन तथा सौन्दर्य प्रशासनका सामग्री र मसी बनाउन गर्ने प्रयोग हुने तमिलनाडुको चेन्नई सहरस्थित खाद्य सुरक्षा अधिकृत पी सतीश कुमारले बताए ।
कटन क्यान्डीमा भएको रसायनले क्यान्सर गराउन र शरीरका सबै अंगहरूलाई प्रभाव पार्न सक्ने सतिश कुमारले न्यु इन्डियन एक्सप्रेस पत्रिकालाई जानकारी दिएका छन् ।
कटन क्यान्डी हेर्दा कपाल गुजुल्टो पारेको जस्तो देखिने भएकाले यसलाई भारतमा “बुढिया का बाल” पनि भनिन्छ । यो मिठाई मनोरञ्जनस्थल, मेला र महोत्सवहरूमा धेरै बिक्री हुने गर्छ। रङ्गीन र मुखमै बिलाउने भएकाले बालबालिकाले निकै मन पराउँछन् ।
तर केही भारतीय अधिकारीहरू उक्त पदार्थ सोचेभन्दा निकै घातक हुने बताउछन् ।
सतिश कुमारको टोलीले गत साता उक्त सहरमा समुद्री तटमा छापा मारेका थिए । उनले उक्त सहरमा बिक्री भइरहेको कटन क्यान्डी दर्ता भएका कारखानाहरुमा नभई घरेलु रूपमा उत्पादन भइरहेको बताए ।
त्यसको केही दिनपछि सरकारले कटन क्यान्डीको बिक्रीमा रोक लगाएको बीबीसीले उल्लेख गरेको छ ।
यसै साताको सुरुमा दिल्लीका खाद्य सुरक्षा अधिकारीहरुले पनि कटन क्यान्डीमा प्रतिबन्ध लगाउन दबाव दिइरहेको भारतीय संचार माध्यमले जनाए ।
यस्तै युरोप एवं अमेरिकाको क्यालिफोर्नियामा खाद्य पदार्थहरू रंगाउन त्यसको प्रयोग निषेध रहेको बीबीसीले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय