वर्ल्ड ट्रेड सेन्टरमा आतंककारी आक्रमणको ३१ बर्ष पुरा
SamacharDesk | २०८० फाल्गुण १४, सोमबार

आज २६ फेब्रुअरी, अमेरिकाको न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा आतंककारी आक्रमण भएको ३१ बर्ष पूरा भएको छ । सन् १९९३ मा आजकै दिन फेब्रुवरी २६ मा वर्ल्ड ट्रेड सेन्टरको उत्तरी टावर ध्वस्त गर्ने उद्देश्यले त्यहाँ भ्यान बम विस्फोट गराइएको थियो ।
यस बम विस्फोटमा परी ६ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।
अमेरिकी अधिकारीहरुका अनुसार उक्त आक्रमण गर्ने समूहमा राम्जी युसुफ, मोहम्मद ए. सलमेह, महमुद अबोउहालिमा, निदाल अैयद, अब्दुल रहमान यासिन र अहमेद अजाज सामेल थिए ।
तीमध्ये चार जना बम ओसारपसार, षड्यन्त्र र सार्वजनिक सम्पत्तिमा हानी पु¥याएको आरोपमा १९९४ मा दोषी ठहर भएका थिए । १९९७ मा आक्रमणका योजनाकार राम्जी युसुफ र भ्यान चालक इयाद स्मोइली दोषी ठहर भए ।
राम्जीले त्यसअघि अफगानिस्तानस्थित आतंककारी संगठन अल कायदाको तालिम केन्द्रमा बसी तालिम लिएका थिए ।
उनकै काका खालिद शेख मोहम्मद २००१ सेप्टेम्बर ११ मा अमेरिकाको टुइन टावरमा गरिएको आतंककारी आक्रमणका मुख्य योजनाकार थिए ।
