पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत
SamacharDesk – बिराज | २०८३ श्रावण ५, मंगलबार
काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई स्वागत गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँच जना कार्यकारी समितिका सदस्यहरुलाई सोमबार बोर्डमा स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा बोर्ड र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउँदै पर्यटन प्रवर्ध्दनलाई परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
कार्यक्रममा निमित्त कार्यकारी प्रमुख ऐरले नेपाल आरोग्य वर्ष २०२७ लाई सफल बनाउन बोर्डले काम गरिरहेको विषयमा पनि जानकारी गराए ।
नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले नेपालको पर्यटनमा निजी क्षेत्र महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै हाल देखिएका अवरोध हटाएर समस्या समाधान गर्दै उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालनमा विशेष जोड दिए ।
बोर्ड सदस्य सिर्जना केसीले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा बोर्ड सदस्य सहदेव धमला, डा. सोविता श्रेष्ठ ढकाल, पेम्बा शेर्पा लगायतले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्वागत कार्यक्रमका क्रममा बोर्डका पदाधिकारी र नवनियुक्त बोर्ड सदस्यहरूको सक्रिय सहभागिता र निजी क्षेत्रसँगको सहकार्यमार्फत नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ र प्रतिस्पर्धी बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।
Categorized in बिजनेस




