मन बिनाको धन–२ मा गौरी मल्ल पनि
SamacharDesk – विजयरत्न | २०८३ श्रावण ४, सोमबार
नेपाली चलचित्र ‘मन बिनाको धन–२’ मा वरिष्ठ अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छन् ।
संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको निर्माण पक्षले अभिनेत्री मल्लसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको जानकारी गराएको छ ।
गौरी मल्लको प्रवेशसँगै चलचित्रको कलाकार टोली अझ सशक्त बनेको निर्माण टिमको विश्वास छ ।
यस चलचित्रमा यसअघि नै सरोज खनाल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन् । साथै यस चलचित्रमा किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ लगायतका अनुभवी कलाकारको पनि अभिनय रहनेछ ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्देशक बुढाथोकी स्वयंले तयार पारेका छन् भने गीत–संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ ।
निर्माण टिमका अनुसार चलचित्रको छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि चलचित्रको छायांकन गर्ने तयारी गरिएको छ ।
Categorized in पेजथ्री




