सम्पदाको जानकारी अब क्यूआर कोडबाटै
SamacharDesk – राम डंगोल | २०८० फाल्गुण १७, बिहिबार

काठमाडौं महानगरभित्रका सम्पदाहरुबारे जानकारी अब क्यूआर कोड मार्फत प्राप्त गर्न सकिने भएको छ ।
महानगरले काठमाडौंका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने क्युआर कोड सहितको फोटो मन्दिर क्षेत्रमा राख्न थालेपछि सो सुविधा पाउन सम्भव भएको हो ।
सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले अब त्यस क्षेत्रको जानकारीका लागि सजिलै क्यूरा स्क्यान गर्ने वित्तिकै पाउन सक्नेछ ।
वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ। क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो।’
उक्त क्यूआर कोड द सारङ्गको प्राविधिक सहयोगमा राखिएको हो । क्यूआर स्क्यान गरेर नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनिज, कोरियन, स्पेनिस, जापानिज, अरेबिक गरी १० भाषामा क्यूआर कोडको प्रयोग गरी अडियो मार्फत सम्पदाबारे जानकारी लिन सकिने महानगरले जनाएको छ ।
Categorized in समाज