arin enterprises

नेपालको नेदरल्याण्डमाथि ६ विकेटको शानदार जित

SamacharDesk | २०८० फाल्गुण १९, शनिबार

राजधानीको त्रिवि खेल मैदानमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्डसलाई ६ विकेटले पराजित गरेको छ ।

शनिबार भएको खेलमा जितका लािग १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । जितसँगै नेपालले फाइनलको यात्रा तय गरेको छ ।

नेपाल पोजिटिभ रन रेटका आधारमा फाइनलमा पुगेको हो । नेपालको जितमा कप्तान रोहितले ४६ रन बनाउँदा गुलसनले ३८ रनको योगदान गरे ।

ओपनर कुशल भुर्तेल १२ र आसिफ शेख ८ रनमा आउट भएपछि नेपालको इनिङ्स कप्तान रोहित र गुलसनले सम्हालेका थिए । दीपेन्द्र सिंह ऐरी ४ र कुशल मल्ल २ रनमा अविजित रहे ।

बलिङमा नेदरल्यान्ड्सका भिभियन किङ्माले तीन विकेट लिए। आर्यन दत्तले एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले सर्वाधिक ३१ रन बनाए , यसअघि नेपालले शुक्रबार नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकालेको थियो ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । लगातार दोस्रो जितसँगै चार खेलबाट चार अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अङ्क छ । तेस्रो स्थानमा रहेको नामिबियाको तीन खेलबाट दुई अङ्क छ ।

आइतबार नेदरल्यान्ड्स र नामिबियाको खेल हुनेछ । उक्त खेलपछि फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

Categorized in स्पाेर्ट्स