राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सहित २० सदस्य आजबाट विदा
SamacharDesk | २०८० फाल्गुण २०, आइतबार

राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल समाप्त भएका अध्यक्षसहित २० जना सदस्यहरुको पदावधि आजबाट सकिंदैछ ।
२०७४ सालमा निर्वाचित एमालेबाट अध्यक्ष बन्नु भएको गणेशप्रसाद तिमिल्सिना सहित ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसबाट २, जसपाबाट १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत विमला राई पौडेल समेत गरी २० सांसद बिदा हुन लागेका हुन् ।
राष्ट्रियसभामा हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधान बमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो ।
आजदेखि रिक्त हुने २० मध्ये १९ पदको लागि यसअघि नै माघ ११ गेको निर्वाचनबाट निर्वाचित भइसकेका छन् । एक पदमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गरिसक्नुभएको छ ।
निर्वाचित सांसदको भोली शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । भोली बिहान संसद भवनको ल्हात्से हलमा बिहान साढे ११ बजे शपथ ग्रहण हुने संसद सचिवालयले जनाएको छ ।
आइतबार बिदाइ हुनेहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा, पार्वती कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदै छन् ।
त्यस्तै कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन्। यता नेकपा एसबाट नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमिलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छन् ।
Categorized in राजनीति