arin enterprises

सिथिनखःमा मंगःहितिको सरसफाई सम्पन्न

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १५, बिहिबार

आज सिथिनखः पर्वको अवसरमा पाटन दरवार क्षेत्रका ऐतिहासिक पानीका श्रोतहरु सरसफाई गरिएको छ ।

मंगल टोल सुधार संघको आयोजना र पाटन दरवार क्षेत्र, मंगलबजारका यूवाहरु मिलेर त्यस क्षेत्रका पानीका श्रोतहरु सरसफाई गरेका हुन् ।

विश्व सम्पदामा सुचिकृत पाटन दरवारको क्षेत्रफल सानै भएपनि यहाँ पानीका श्रोतहरु भने धेरै संख्यामा छन् । 

ती मध्ये सिथिनखःको अवसरमा मंगःहिति, भण्डारखाल हिति, भण्डारखालस्थित कमल पोखरी, दरवार परिसरमा रहेको महारानी पोखरी र कृष्ण मन्दिर अगाडि परेवाका लागि पानी राखिएका ढुंगे अठलहरु सरसफाई गरिएको हो । 

पाटन दरवार क्षेत्र भित्रै पर्ने सुन्दरी चोकस्थित तुसाहिति परिसर भने सिल गरिएकाले त्यहाँ सरसफाई हुन सकिएन । यस ठाउँमा लकडाउन पूर्व पाटन संग्रहालय र काठमाडौं उपत्यका संरक्षण कोषबाट सरसफाई गरिँदै आएको थियो ।

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी लकडाउनका बीच भएको सरसफाइ कार्यक्रममा सरसफाई गरिएको क्षेत्रमा सफाईमा जुटेका यूवाहरु बाहेक अरुलाई प्रवेश रोकी डोरीले बाँधिएको थियो ।

सो क्षेत्रमा भीडभाड हुन नदिनका लागि ढुङ्गेधारामा पानी लिन आउनेहरुलाई समेत सरसफाई कार्य सम्पन्न भएपछि मात्र आउन आग्रह गरी फर्काइएको थियो ।

ललितपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले सिथिनखःको दिनमा मंगल टोलबाट मंगःहितिको सरसफाई वर्षेनी गरिदै आएपनि भण्डारखाल धारा, पोखरी परिसर र महारानी पोखरी भने पहिलो पटक सरसफाई गरिएको बताउनुभयो ।

वर्षा ऋतुको आगमनको सङ्केतको रुपमा ज्येष्ठ शुक्ल षष्ठीका दिनमा सिठी नखः पर्व मनाउँदै ढुङ्गेधारा, कुवा, पोखरी, इनार, लगायतका पानीका श्रोतहरु सफा गर्ने गरिन्छ । यस्ता पानीका श्रोत बनेको स्थानमा पलाएका झार, घाँस, लेऊ आदि निकाली सफा गर्ने गरिन्छ ।

वर्षभरी पलाएका घाँस, आदि विरुवाहरु वर्षाकालमा बढ्नुका साथै संरचनाहरु भौतिकरुपमा कमजोर हुने भएकाले नदिन यस दिनमा सरसफाई गर्ने परम्परा लिच्छवीकालबाट शुरु भएको मानिएको छ ।

Categorized in संस्कृति