arin enterprises

त्रिशुली बस दुर्घटना : सातको मृत्यु

SamacharDesk | २०८० फाल्गुण २३, बुधबार

आज बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ  ।

लुम्बिनीको पडेरियाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ३० जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना महिला सहित ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३३ जनाको जीवितै उद्धार गरिएको छ ।

ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । पृथ्वीराज मार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदिमा खसेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि गजुरी अस्पताल र केहिलाई काठमाडौ पठाईएको छ ।

उद्धारका लागि विपद ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ ।

मृतकको पहिचान खुल्न सकेको छैन भने उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले बस दुर्घटनाप्रति दुख व्यक्त गर्नुभएको छ ।दाहालले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशनसमेत दिनुभएको छ ।

Categorized in समाज