नेपालकै पहिलो लिफ्टसहितको आकाशेपुल शिलान्यास
SamacharDesk | २०८० फाल्गुण २८, सोमबार

नेपालको पहिलो लिफ्टसहितको अपाङ्ग मैत्री आकाशेपुल निर्माण हुने भएको छ ।
ललितपुर महानगरपालिकाले चक्रपथ कुसन्तीमा निर्माण हुने उक्त पुलको आज ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गर्नुभएको छ ।
कूल लागत ४ करोड ९२ लाख १६ हजार रुपैयाँतमा निर्माण हुने उक्त आकाशे पुल निर्माणको लागि लामा प्रगती–मणि बुद्ध जेभि सँग फागुन २० गते नै सम्झौता भइसकेको छ ।
शिलान्यास कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले चार बर्षको लगातारको मेहनतपछि आज पुलको शिलान्याश गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
पुल निर्माणको लागि सडक बिभागले स्वीकृति दिन ढीलाई गर्दा ढिलो भएको उहाँको भनाई थियो । पुल एक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख चिरिबाबु महर्जनले बताउनु भयो ।
मेयर महर्जनले महानगरपालिकाले निकट भविष्यमै बाँकी ७ दशमलब ९ किलोमिटर क्षेत्रमा स्मार्ट स्ट्रीट लाइट जडानको लागि टेण्डर भैसकेको र चाँडैनै लाइट जडान कार्य सुरु हुने जानकारी पनि दिनुभयो ।
बाटो काट्ने पुल र लाइट नभएकाले यस क्षेत्रमा दुर्घटनाका कारण १७ जनाको मृत्यु भैसकेको छ ।
Categorized in स्थानीय