प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
SamacharDesk – Ram Dangol | २०८० फाल्गुण ३०, बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ ।
बुधवार प्रतिनिधिसभा बैठकमा १५७ मत प्राप्त गरी उहाँले विश्वासको मत लिनुभएको हो । २६८ जना सांसदहरु रहेको बैठकमा प्रधानमन्त्री दाहालले बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धि प्रस्तावको विपक्षमा ११० मत र दिन्न भन्ने पक्षमा एक मत रहेको छ । प्रधानमन्त्री दाहालले यसअघि २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा तेस्रो दल बनेर पनि सरकार गठन गरेको थियो ।
निर्वाचनबाट पहिलो र दोस्रो दल बनेका नेकपा एमाले र माओवादीबीच तालमेल नमिल्दा २७५ सदस्यीय प्रतिनिधिसभामा ३२ सीटको तेस्रो स्थानमा रहेको माओवादी सरकारको नेतृत्वमा पुगेको थियो ।
संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री बनेको व्यक्तिले ३० दिन भित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअन्तर्गत प्रधानन्त्री बनेको १६ औं दिन अर्थात २०७९ सालको पुष २६ गते पहिलो पटक उहाँले विश्वासको मत लिनुभयो ।
पहिलो पटक बिश्वासको मत लिएको ३ महिना नबित्दै प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरी कांग्रेसको साथ लिएपछि एमालेसहितका दलहरु सरकारबाट बाहिरिए र उहाँले फेरि विश्वासको मत लिनु पर्ने अवस्था आइपर्यो ।
दोस्रो पटक लिएको विश्वासको मतका क्रममा उहाँको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । एक वर्ष नबित्दै यही फागुन २१ गते फेरि त्यो गठबन्धन भत्काएर एमालेलगायतका दलहरुसँग गठबन्धन बनाएपछि तेस्रो पटक बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिनुभएको हो ।
यो पटक विश्वासको मतमाथि मतदान हुँदा खसेको कुल २६८ मतमध्ये उहाँको पक्षमा १५७ मत पर्यो भने विपक्षमा ११० मत रह्यो । १ मत तटस्थमा पर्यो ।
यो पटक भएको मतदानमा प्रधानमन्त्री दाहालको पक्षमा उहाँको पार्टी माओवादी केन्द्रका अतिरिक्त सत्तामा रहेका नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीका साथै सत्तामा नरहेका नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका थिए ।
संबैधानिक प्रावधान बमोजिम प्रधानमन्त्री दाहालले तेश्रो पटक बिश्वासको मत लिन सफल हुनुभएको छ ।
Categorized in राजनीति