ब्रह्मटोलमा बलि बिना नै पचली भैरवको नाच हुने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० चैत्र २, शुक्रबार

पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा अन्तरगत शुक्रबार ब्रह्मटोलस्थित १२ बर्षे इनार चोक (ज्यापु तुं) मा देवीनाच प्रदर्शन हुने भएको छ । यस क्रममा चाप्याखं भनी चैत्र २ गते शुक्रबार राती र ३ गते शनिबार दिनमा ‘न्हिप्याखं’ ज्यापुतुं चोकमा नाच प्रदर्शन गर्न लागिएको हो ।
अन्य स्थानमा नाच प्रदर्शनको क्रममा भैरव अथवा देवगणलाई बलि पूजा दिनुपर्ने परम्परा छ भने ब्रह्मटोल ज्यापुतुंमा भने बिना बलि नै नाच्ने चलन रहेको १२ बर्षे पचली भैरव खड्गसिद्धि जात्रा व्यवस्थापन समितिका संयोजक भरत माली बताउँछन् ।
‘ब्रह्मटोलमा हुने नाच अरुभन्दा भिन्नै छ । अरु ठाँउमा यो नाच नचाउँदा बलि पूजा हुन्छ भने यस ठाँउमा कुनै पनि बलि बिना नै गर्नुपर्ने चलन छ । त्यहाँ देवगणहरुलाई चबांसम्म पनि दिइन्न’ संयोजक मालीले बताए ।
काठमाडौं उपत्यकामा बलिको रुपमा देवीदेवतालाई काँचो अण्डा चढाउने चलन पनि रहेको छ । बलिको रुपमा चढाइने सोही काँचो अण्डालाई स्थानीय नेपालभाषामा चबां भन्ने गरिन्छ ।
शुक्रबार पचली भैरव देवगणहरु ज्याःबहालवाट ब्रह्मटोलस्थित १२ बर्षे इनार चोकमा पुगेपछि ‘द्यः ल्हायेगु’ भनी नित्यनाथको स्मरण गर्दै नाच्छन् । त्यसपछि भैरवको सम्पूर्ण देवगणसँगको नृत्य, भैरवको एकल नृत्य, भैरव, अजिमा बाराहिसँगको नाच सकेपछि पूजा सुरु हुन्छ । पूजा सम्पन्न भएपछि बाराहीले सम्हय् छर्ने र अजिमाले पात्र दिने काम पछि शुक्रबारको कार्यक्रम सकिन्छ ।
त्यस्तै शनिबारको कार्यक्रम भने अलि फरक रहेको मालीको भनाई छ । मालीका अनुसार सुरुमा अरु ठाँउमा जस्तै गणेशपछि क्रमशः ब्रह्मायणी, रुद्रायणी, कौमारी, बैष्णवी, बाराही र तःसि प्याखं (सिंघिनी व्याघ्रिनी) को नाच हुन्छ र त्यसपछि पूजा सुरु हुन्छ ।
‘पूजा पछि कुमारीलाई हिबहाः भनिने ठाँउमा लगेर एक माना रगत खुवाउने र रुद्रायणीलाई दुरुबहाः भनिने ठाँउमा लगेर एक माना दुध खुवाइन्छ । यस्तो अरु ठाउँमा गर्नुपदैन । यो अरु ठाँउको भन्दा भिन्न चलन हो’ संयोजक मालीले बताए ।
त्यसपछि फेरी बाराहीले सम्हय् छर्ने र अजिमाले पात्र दिने काम हुन्छ । पात्र दिनेमा पनि शुक्रबार भने सेतो छ्याङ् राखेर देवगण र गुठीयारहरुलाई दिइन्छ भने शनिबारको दिन खैरो छ्याङ् (कःथ्वँ) राखेर देवगण र गुटीयारहरुलाई दिने चलन रहेको मालीले जानकारी दिए ।
‘त्यहाँ रहेका विभिन्न आठ वटा समूहले विभिन्न आठ प्रकारका सामाग्री ल्याएर देवगणलाई चढाउँछन् । तीमध्ये हाजा (बफाएको भात) सिंघिनी र व्याघ्रिनीले छर्छ भने अजिमाले यःमरि छर्छ’ मालीले थपे ।
त्यसपछि अजिमाको दैत्यवध नृत्यपछि देवगणहरु पुनः ज्याःबहालको द्यःछेँमा नै फर्केपछि ज्यापुतुंको कार्यक्रम सम्पन्न हुनेछ ।
Categorized in संस्कृति