प्रतिनिधि सभा बैठकमा काँग्रेसको अवरोध
SamacharDesk | २०८० चैत्र २, शुक्रबार

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ ।
सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचि अनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उभिएर बिरोध जनाएको हो ।
प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै कांग्रेस सांसदहरुले सहकारी ठगी प्रकरणमा मुछिएको ब्यक्ति गृहमन्त्री बन्न नमिल्ने भन्दै गृहमन्त्री लामिछानेको राजीनामा मागेका थिए ।
कांग्रेस सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेकाले उहाँले राजीनामा दिनुपर्ने माग गर्नुभयो । नैतिकतताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्न पौडेलले गृहमन्त्री लामिछानेलाई आग्रह गर्नुभयो ।
सभामुखले आसन ग्रहणका लागि काँग्रेस सांसदहरुलाई आग्रह गर्दा पनि सांसदहरुले विरोध जारी राखेका थिए । त्यसपछि नियमापत्ति गर्दै नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सभालाई अगाडी बढाउने सांसदहरुको पनि दायित्व भएको भन्दै सभा सञ्चालन गर्न दिन आग्रह गर्नुभएको थियो ।
यस्तै काँग्रेसका अर्का सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौंस्थित घर कुन स्रोतले बनेको हो स्पष्ट पार्न माग गर्नुभयो ।
दश वर्षअघि दुईवटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिशान महल बनेको भन्दै त्यसको आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गर्नुभयो ।
यस्तै सुन तस्करहरुसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भएको भन्दै तस्करसँगको कुराकानीको अडियो संसदमा सुनाउन पनि केसीले माग गर्नुभएको थियो ।
Categorized in राजनीति