बागमति प्रदेश सरकारको नेतृत्वमा हाम्रो नेपाली पार्टीको दावी
SamacharDesk – बिराज | २०८० चैत्र ४, आइतबार

लौरो चुनाव चिह्न वाहक हाम्रो नेपाली पार्टीले प्रदेश सरकारको गठनको लागि कुनै दल वा गठबन्धनलाई समर्थन नगर्ने जनाउँदै सरकारको नेतृत्व दावी गरेको छ ।
पार्टीले विज्ञप्ती जारी गर्दै गत चैत्र ३ र ४ गते बसेको केन्द्रीय कमिटीको वैठकबाट प्रदेशको सरकार सम्वन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने बताएको हो । सोही विज्ञप्तीमार्फत पार्टीले सरकारको नेतृत्व समेत दावी गरेको छ ।
‘लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमति प्रदेश सरकारको नेतृत्व गर्नका लागि हाम्रो नेपाली पार्टी तयार रहेको ब्यहोरा सम्पुर्ण राजनैतीक दल तथा जनतालाई अनुरोध छ’ विज्ञप्तीमा लेखिएको छ ।
प्रवक्ता डिल्लीकिशोर कार्कीबाट जारी विज्ञप्तीमा बागमति प्रदेशमा पनि सत्ता बनाउने र टिकाउने अभिप्रायले विभिन्न मन्त्रालय र राजनीतिक पदहरुको भागबण्डा थालीमा राखेर पस्किँदै गरेको र त्यस्तै प्रस्ताव हाम्रो नेपाली पार्टीलाई पनि आएको भनिएको छ ।
‘नो नट अगेन भनेकाहरुलाई नै काँध हालेर अर्को त्यस्तै प्रवृत्तिलाई बागमति प्रदेश सरकारको शिरमा राख्न हामी हाम्रो काँध प्रयोग हुन दिनेछैनौं’ विज्ञप्तीमा लेखिएको छ ।
काम गर्न सत्तामै जानुपर्ने भन्ने अपुर्ण भाष्य स्थापित गरेर सत्ताको मिठास भोग्नेहरुको भिडमा पार्टीले गर्नुपर्ने काम सत्ता बाहेक अन्यत्र पनि निकै धेरै भएको कुरा स्थापित गराउने दावी गरेको छ ।
‘लोकतान्त्रिक र नयाँ चरित्रका रुपमा हामीलाई नेतृत्व दिएर सुशासन र पारदर्शीतासहितको नयाँ बाटो हिँड्न चाहेमा हामी सबै पार्टीहरुसँग सहकार्य गरेर प्रदेश सरकारको नेतृत्वदायी भूमिका अपनाउन सक्षम छौं । यसमा पछि हट्ने छैनौं’ विज्ञप्तीमा लेखिएको छ ।
पार्टीको यो विज्ञप्तीसँगै अब हाम्रो नेपाली पार्टीले बागमति प्रदेश सरकारको नेतृत्व दावी गर्ने स्पष्ट भएको छ ।
बागमति प्रदेशमा हाम्रो नेपाली पार्टीले प्रत्यक्ष निर्वाचनबाट एक र समानुपातिकबाट एक सिट गरी दुई सिट पाएको छ । दुई सिट मात्र भएपनि अहिले बागमति प्रदेश सरकारको गठनमा हाम्रो नेपाली पार्टीको भूमिका अहम देखिएको छ ।
बागमति प्रदेशमा सभामा ११० सभासद् छन् । यहाँ सत्ता गठबन्धन दल नेकपा (एमाले) को २७, माओवादी केन्द्रको २१ र नेकपा (एस) को ७ सिट गरी जम्मा ५५ सिट हुन आउँछ । तर सरकारको नेतृत्व गर्न ५६ सांसदको समर्थन आवश्यक हुन्छ ।
राप्रपाले बागमति प्रदेश सभामा कसैलाई पनि समर्थन नगर्ने जनाइसकेको छ भने नेमकिपाले प्रतिपक्षमा रहने बताएको छ । यस्तो अवस्थामा हाम्रो नेपाली पार्टीको निर्णयले भूमिका खेल्ने पक्का भएको छ ।
तर, हाम्रो नेपाली पार्टीले कुनै पनि दल वा गठबन्धनलाई समर्थन नगर्ने बताउँदै आफैले नेतृत्व दावी गरेपछि भने ठुला दलहरुलाई चुनौती बढेको छ ।
हाम्रो नेपाली पार्टीले बागमति प्रदेश सरकारको नेतृत्व दावी गरेको खण्डमा पार्टीका संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले मुख्यमन्त्री पदमा उम्मेदवारी दिनेछन् ।
बज्राचार्य गएको संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट निर्वाचित भएका थिए ।
