arin enterprises

पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित

SamacharDesk | २०८० चैत्र ६, मंगलबार

रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन् । ७१ वर्षीय पुटिनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रपतीय चुनावमा निर्वाचित भएका हुन् ।

हुन त यस अघि पनि उनले चुनाव जित्ने पक्का नै रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले लेखेका थिए । रुसी निर्वाचन अधिकारीहरुले सार्वजनिक गरेको चुनावी नतिजा अनुसार पुटिनले ८७ प्रतिशत मत पाएका छन् ।

उनका प्रतिस्पर्धी निकोलाई खारितोनोभले ४.१ प्रतिशत, भ्लादिस्लाभ दाभान्कोले ३.८ प्रतिशत र लियोनिद स्लट्स्काईले ३.१५ प्रतिशत मत प्राप्त गरेका छन् ।

रुसको यस राष्ट्रिपति चुनावमा देशका ७४ प्रतिशत मतदाता सहभागी भएको रुसी निर्वाचन अधिकारीहरुले बताएका छन् । यो जितसँगै उनी पाँचौं पटक राष्ट्रपति बन्दै रुसको इतिहासमा सबभन्दा लामो सरकार चलाउने नेता समेत बनेका छन् ।

पुटिन सन् १९९९ देखि निरन्तर रुसको सत्तामा छन् । सन् १९९९ मा केही महिनाका लागि पुटिन प्रधानमन्त्री भएका थिए। राष्ट्रपतिको रुपमा उनको पहिलो कार्यकाल भने सन् २००० देखि २००४ सम्म र सन् २००४ देखि २००८ सम्म दोस्रो कार्यकाल थियो ।

सन् २००८ देखि २०१२ सम्म उनी दोस्रो पटक प्रधानमन्त्री भएका थिए। सन् २०१२ मा पुनः उनी २०१८ सम्म तेस्रो कार्यकालका लागि र सन् २०१८ देखि २०२४ सम्म चौथो कार्यकालका लागि राष्ट्रपति भएका थिए ।

त्यस्तै निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरु क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र भएको उनका आलोचकहरूले आरोप लगाएका छन् । पश्चिमा देशहरुले भने रुसको चुनाव स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आलोचना गरेका छन् ।

त्यस्तै अरेरिकाले अमेरिकाले जस क्रममा पुटिनले राजनीतिक विपक्षीहरुलाई जेल हालेको र अन्यलाई उनीविरुद्ध चुनाव लड्न रोक लगाएको कुरा उल्लेख गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनले थप एक चुनावको नाटक गरेको टिप्पणी गर्दै जीवनभर शासन गर्नका लागि पुटिनले जे पनि गर्ने जिकिर समेत गरे ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुटिनलाई बधाई ज्ञापन गर्दै उनीसँग आगामी दिनमा थप सहकार्य गर्ने बताएका छन् ।

राष्ट्रिपतिमा निर्वाचित भएका पुटिनले आगामी दिनमा देशको सेनालाई थप बलियो बनाउने र युक्रेनमा रुसको विशेष सैन्य कारबाहीलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

रुसीहरु एकताबद्ध हुँदासम्म उनीहरुलाई कसैले दबाउन नसक्ने उनको भनाइ छ ।

Categorized in अन्तर्राष्ट्रिय