चन्द्रागिरिमा वन डढेलो रोकथाम तथा नियन्त्रण तालिम सुरु
SamacharDesk – बिराज | २०८० चैत्र ६, मंगलबार

चन्द्रागिरि नगरपालिकाले तीन दिने वन डढेलोको रोकथाम तथा नियन्त्रण तालिम सुरुआत गरेको छ ।
चन्द्रागिरि नगरपालिकाले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसआइडी) को आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित स्वच्छ हावा कार्यक्रम अन्तर्गत तालिम सुरु गरेको हो ।
सोमबारबाट सुरु भएको तालिममा डढेलो नियन्त्रण गर्ने तरिका र ध्यान दिनुपर्ने कुराहरु जानकारी गराइने नगरापालिकाले जनाएको छ ।
नगरप्रमुख घनश्याम गिरीले तालिमको शुभारम्भ गर्दै नगरपालिकाले विपद् जोखिम व्यवस्थापनमा उच्च प्राथमिकताका साथ योजना, जनशक्ति र वजेट तीनवटै क्षेत्रमा ध्यान दिएको बताए ।
सो क्रममा नगर प्रमुख गिरीले विपद् व्यवस्थापनको पूर्व तयारीका लागि चन्द्रागिरी नगरपालिकाका १५ वटै वडामा आवश्यक सामग्रीको व्यवस्थापन गर्न लागेको बताए ।
कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरप्रवक्ता कृष्ण प्रसाद खड्गी, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सञ्जय सिग्देल लगायतकाे उपस्थिती थियाे ।
साथमा डिभिजन वन कार्यालयका वन अधिकृत अशोक पराजुली, युएसआइडीका स्वच्छ हावा कार्यक्रमका संयोजक भोला भट्टराई, वन समूहका पदाधिकारीहरु, नगर प्रहरीहरु लगायतको पनि उपस्तिथि रहेको थियो ।
उद्घाटन सत्रको सहजीकरण वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख भद्रा अर्यालले गरेका थिए ।
नगरपालिका भित्र हाल २३ वन उपभोक्ता समूह क्रियाशील छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मानवीय लापरवाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको छ ।
मानिसहरूमा कृषिकर्ममा कमी आएका कारण जङ्गलमा दाउरा, घाँस, पत्कर थुप्रिएर बसेको र त्यसरी थुप्रिएर बसेको ‘फ्युल’मा आगो सल्किँदा ठूलो क्षेत्रमा डढेलो पुग्ने खतरा बढेको बताइन्छ ।
जल तथा मौसम विज्ञान विभागले यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम ज्यादा हुने खतरा औँल्याइसकेको छ ।
Categorized in स्थानीय