प्रधानमन्त्री दाहालद्वारा गृहमन्त्री लामिछानेको बचाउ
SamacharDesk | २०८० चैत्र ६, मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको बताउनुभएको छ ।
प्रतिनिधिसभामा लामिछानेको विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा लामिछानेको बचाउ गर्दै विषयलाई राजनीतिक गर्न खोजिएको बताउनुभएको हो ।
उहाँले रवि लामिछानेको पार्टी सरकारमा आउने चर्चा चलेपछि यो विषयलाई संसदको काम, कारबाही नै प्रभावित हुनेगरी उठाइएको बताउनु भयो ।
उहाँले हालसम्मको अनुसन्धानले गृहमन्त्री लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनैपनि जिम्मेवारी र भुमिकामा नरहेको बताउनु भयो ।
अदालतमा विचाराधिन मुद्दामा पनि उहाँको नाम कतै नजोडिएको प्रधानमन्त्री दाहालले बताउनु भयो । पूरक जाहेरी दिँदापनि गृहमन्त्री लामिछाने संलग्न भएको कुनै आधार र प्रमाण पेश नगरिएकोले प्रहरीले जाहेरी दर्ता गर्नु आवश्यक नठानेकाले जाहेरी दर्ता नगरेको बताउनु भएको छ ।
मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा सांसदले गर्नुभएका प्रश्नको जवाफ दिंदै गृहमन्त्री लामिछानेको बचाऊ गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले १३ जना सांसदको प्रश्नको जवाफ दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका विषयमा सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिनुभएको हो।
Categorized in राजनीति