उद्योगी चौधरीसँग बयान लिइयो
SamacharDesk | २०८० चैत्र ८, बिहिबार

नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ ।
बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका चौधरी आज विहान सिआईबीको सम्पर्कमा आएपछि सरकारी वकिलको समन्वयमा बयान लिएको हो ।
चौधरी आफैं बिहान सरकारी वकिलको कार्यालय पुगेका थिए । आज सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा चौधरीले बाँसबारी जग्गाबारे राजनीतिकरण भएको उनले बताए ।
उहाँले स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने बताए । सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताएका छन् ।
उनलाई बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले बयान लिएको हो ।
सांसद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयरधनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन् ।
सरकारी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि उनी पनि अनुसन्धानको दायरामा तानिएका हुन् ।
च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २१०० कित्ता शेयर थियो भने विनोद चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००/२०० कित्ता शेयर थियो ।
गंगा चौधरीको नाममा १०० कित्ता शेयर थियो । बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता शेयर थियो ।
अहिले जग्गाको स्वामित्व विनोद चौधरीको नाममा नभएपनि सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको देखिएकाले चौधरीलाई बयान लिइएको हो ।
Categorized in राष्ट्रिय