सेतो मच्छिन्द्रनाथको जात्रा सम्पन्न
SamacharDesk – राम डंगोल | २०८१ बैशाख ९, आइतबार

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा हिजो सम्पन्न भएको छ ।
हिजो रथमा रहेको मूर्तिलाई खटमा राखेर दलाक्षी, ह्यूमत, कोहिटी, भिमसेनस्थान मरु हुँदै जनवहालमा रहेको मन्दिरमा लगिएको छ । बाजागाजा र सांस्कृतिक झाँकीसहित खटमा बोकेर शनिबार बेलुका मच्छिन्द्रनाथलाई मन्दिर पुर्याइयो ।
वैशाख ४ गते जमलस्थित तीनधारा पाठशालाबाट सुरु भएको रथ जात्रा पहिलो दिन असनचोकसम्म पुर्याइएको थियो । दोस्रो दिन असनबाट केलटोल, असन हुँदैन हनुमानढोका दरबार क्षेत्रमा पुर्याइएको थियो ।
दोस्रो दिनको जात्रालाई लायकू याः भन्ने गरिन्छ । जसको शाब्दिक अर्थ दरवारको यात्रा हो । यस अर्थमा सो दिनको रथयात्रा मल्लकालीन समयमा राजाको दर्शनको लागि देवतालाई दरवार पुर्या इएको भनेर सहजै बुझ्न सकिन्छ ।
त्यस्तै जात्राको तेस्रो दिन लगनमा सेतो मच्छिन्द्रनाथको आमा भनिएको रुख र मन्दिरलाई तीन पल्ट परिक्रमा गराइएपछि लगंयाः अर्थात लगनको जात्रासँगै यस वर्षको सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएको छ । साइत हेरेर हिजो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट खटमा राखी बाजागाजा र सिन्दुरजात्रासहित केलटोलस्थित जनबहाल मन्दिरमा पुर्याइएको थियो ।
धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा छ ।
Categorized in संस्कृति