arin enterprises

चिकित्सक संघलाई काठमाडौँ महानगरबाट १३ सय थान ज्याकेट सहयोग

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ १९, सोमबार

व्यक्तिगत सुरक्षा सामग्री लगायतका आवश्यक सुरक्षा सामग्रीको अभावकै बिच ज्यान जोखिममा राख्दै कोभिड १९ संक्रमितको उपचारमा निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार ३ सय थान ज्याकेट सहयोग गरेको छ । 

काठमाडौं महानगरपालिका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गर्नुभयो । 

कामपा कार्यालय राष्ट्रिय सभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले कोभिड–१९ जस्तो अदृष्य शत्रुसँगको लडाईँमा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई महानगरपालिकाको तर्फबाट सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । 

‘अहिलेको विषम परिस्थितीमा अग्रमोर्चामा खटिएका चिकित्सकहरुलाई मनोबल उच्च बनाएर संक्रमितको उपचारमा खटिन सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘आगामी दिनमा थप सहकार्य र समन्वय गरेर अघि बढ्न काठमाडौँ महानगरपालिका तयार छ ।’ 

शाक्यले अन्य ठाउँको तुलनामा काठमाडौँ अहिले तुलनात्मक रुपमा शान्त रहेको भन्दै यहाँ संक्रमण फैलिएमा भयावह अवस्था सिर्जना हुनसक्ने भएकाले जनचेतना र सचेतना फैलाउन चिकित्सकहरुको भूमिका महत्वपूर्ण हुन बताउनुभयो ।

अहिले भारतबाट नेपाली नागरिकहरु नेपाल आउने क्रम बढीरहेको साथै मलेसियालगायत तेस्रो मुलुकबाट पनि नागरिक नेपाल ल्याउने तयारी भएकाले चिकित्सकहरुको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले कोरोनालाई आतंकमाथिको आतंक हो भन्ने ढंगले बुझ्दा थप समस्या भएको भन्दै यस्तो सन्र्दभमा पनि जनचेतनाको आवश्यकता रहेको बताउनुभयो ।

नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर कोइरालाले संयमता अपनाउने र बढी चिन्ता नलिने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिने बताउनुभयो । 

‘तपाईँ बाहिर जानु भएन भने कोरोना भित्र आउँदैन’ कोइरालाले भन्नुभयो, ‘ लापरवाही गरियो भने कोरोनासँगको युद्धमा पराजित भइन्छ ।’

समाजमा सचेतना फैलाउन र यस संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीको बारेमा आम सर्वसाधारणलाई जानकारी दिन चिकित्सकहरु विज्ञता दिन तयार रहेको भन्दै सबैको सहयोग आवश्यक भएको बताउनुुभयो । 

‘नाटक, विज्ञापन आदिका माध्ययमबाट पनि जनचेतना फैलाउन सकिन्छ । त्यसका लागि हामीसँग विज्ञता छ । सबैको सहयोग भयो भने हामी यसका लागि तयार छौँ’ कोइरालाको भनाई हो । 

‘पीपीई, मास्क, पञ्जाको प्रयोग गर्ने विधि, त्यसको गुणस्तर लगायतका विषयमा पनि चिकित्सकहरुलाई प्रशिक्षण आवश्यक छ,’ कोइरालाले भन्नुभयो, ‘हामी सहकार्य गरेर अघि बढौँ । आगामी दिनमा आउने चुनौतिलाई समेत सहजै सामना गरेर अघि बढ्न सक्ने वातावरण निर्माण हुन्छ ।’ 

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर कार्कीले काठमाडौँ महानगरपालिकाको सहयोगले आफूहरु उत्साहित भएको बताउनुभयो । 

‘अहिले पनि कार्यक्षेत्रमै चिकित्सकहरुले कुटाइ खानु परेको, मनोवल कमजोर पार्ने खालका गतिविधिको सामना गर्नु परेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘यो सहयोगले केही हदसम्म भए पनि कार्य क्षेत्रमा खटेका चिकित्सकहरुको मनोबल बढ्ने अपेक्षा गरेका छौँ ।’ 

उहाँले कोरोनाको कहरबाट परेको मनोवैज्ञानिक असरका बारेमा पनि काउन्सीलिङ गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो । उहाँले संघमा १० हजार बढी चिकित्सक आवद्ध रहेको भन्दै आगामी दिनमा काठमाडौँ महानगरपालिकासँग थप सहकार्य गरेर अघि बढ्न संघ तयार रहेको पनि बताउनुभयो ।  

क्षेत्रपाटी अस्पताल संचालक समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सरकारको साथ रहेमा अहिलेको महामारीसँग जुध्न चिकित्सकहरुलाई हौसला मिल्ने बताउँदै काठमाडौंलाई संक्रमणको जोखिमबाट बचाउन यहाँको स्थानीय सरकारको सहयोग अपरिहार्य हुने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेल, चिकित्सक संघका महासचिव बद्री रिजाललगायत पनि सहभागी हुनुहुन्थ्यो ।

Categorized in स्थानीय