arin enterprises

काठमाडौंमा राखिएका झिलिमिलि बत्तीको वातावरणीय असर बारे अध्ययन हुने

SamacharDesk – बिराज | २०८१ बैशाख २६, बुधबार

सहरको सजावटका लागि भन्दै काठमाडौँ महानगरपालिका (कामपा) भित्र विभिन्न स्थानमा राखिएका झिलिमिलि बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायतका कोणबाट अध्ययन हुने भएको छ ।

मंगलबार कामपा उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिको वैठकले यस्तो निर्णय गरेको हो ।

वैठकले यसरी राखिएका बत्तीहरुले मानिसको पैदल वा सवारी यात्रामा पार्ने, प्रभाव, चराचुरुङ्गी र अन्य जीव जनावरलाई पार्ने असर, रुखमा वा बिजुलीका पोलमा बेरेर राखिने बत्तीका तारहरुले रुखलाई गर्ने असर जस्ता विषयमा छलफल गरेको थियो ।

यस्ता बत्तीहरुले सामाजिक तथा व्यावसायिक जीवन, पर्यावरण र जैविक विविधता, स्वास्थ्य र सहजता जस्ता पक्षबाट अध्ययन गर्ने निर्णय भएको हो ।

‘सडक किनारा, सम्पदा क्षेत्र, पार्क, लगायतका सार्वजनिक स्थलमा धेरैतिर यस्ता भिलिमिलि बत्तीहरु छन् । यस्ता बत्ती कहाँ राख्नु पर्ने हो, कति समयका लागि बाल्नु पर्ने हो, बत्ती राख्दाका सकारात्मक र नकारात्मक प्रभाव के हुन्, तथ्य थाहा हुन जरुरी छ’ उपप्रमुख डंगोलले भनिन् ।

सडक किनारामा राखिएका बत्तीको प्रकाशले गाडी चलाउन निकै गार्हो भएको अनुभव आफनो पनि रहेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने ।

‘कुन ठाउँमा कस्तो खालको विजुली आवश्यक पर्ने हो, यसको मापदण्ड आवश्यक छ । वातावरण र इलेक्ट्रिक इञ्जिनियरसहितको टोलीले यसको अध्ययन गर्नेछ । अध्ययनले गरेका शिफारिसका आधारमा यस्ता बत्तीको व्यवस्थापनका बारेमा निर्णय लिइनेछ’ प्रमुख प्रशासकिय अधिकृत परियारको भनाई हो ।

सडक किनारामा बत्ती राख्नु उपयुक्त हो कि होइन भन्दा पनि अरुले गरेको अभ्यास पछ्याएको अनुगमन समितिका सदस्य एवं वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले बताए ।

वैठकमा समितिका सदस्यसहित कानुन तथा मानव अधिकार विभाग, राजस्व विभाग, वातावरण व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, महानगर प्रहरी बल, योजना अनुगमन तथा मूल्याङ्कन एकाइ, पार्क तथा हरियाली परियोजनाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Categorized in स्थानीय