arin enterprises

बालमन्दिरको जग्गा प्रकरणमा सीआइबीले थाल्यो अनुसन्धान

SamacharDesk | २०८१ बैशाख २७, बिहिबार

बाल संगठनको जग्गा सम्झौता अवधि बाँकी छँदै फेरि ३८ वर्षको लागि कौडीको मूल्यमा भाडामा दिएर ठगी गरेको आरोपमा सीआइबीले अनुसन्धान सुरु गरेको छ ।

बाल संगठनले आफ्ना जग्गा सस्तोमा भाडामा दिएको र सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको भन्दै संगठनकै पूर्व पदाधिकारीविरुद्ध ठगी मुद्दामा जाहेरी दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनाविरुद्ध पक्राउ अनुमति लिएको छ । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् । उनी २०४७ देखि २०७७ सम्म बाल संगठनको अध्यक्ष थिइन् ।

पक्राउ पुर्जी जारी हुने अन्यमा बाल संगठनका तत्कालीन उपाध्यक्षहरु तुलसीनारायण श्रेष्ठ, योगेन्द्रबहादुर शाही, तत्कालीन महासचिवहरु गणेशदत्त श्रेष्ठ सुवासकुमार पोखरेल, श्यामकुमार आले, प्रचण्डराज प्रधान, रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य, संगठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णबहादुर साह, संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ छन् ।

त्यसैगरी बृहस्पति विद्या सदनका तर्फबाट तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी, अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवि तिवारी, विद्या सदनका तत्कालीन सञ्चालक प्रवीणराज जोशी, ऋद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कृतिप्रसाद पाण्डे र मुरारी निधि तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्सालमा बाल संगठनको नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा छ । त्यसमध्ये २८ रोपनी ५ आना १ पैसा जग्गा नेपाल बाल संगठनले बृहस्पति विद्यालय व्यवस्थापन प्रालि ९बृहस्पति विद्या सदन० लाई भाडामा दिने सम्झौता गरेको थियो ।

बृहस्पतिलाई जग्गा भाडामा दिन २०४९, २०५३, २०५८, २०५९ र २०७२ सालमा गरी पाँच पटकसम्म सम्झौता भएको थियो ।

मासिक ९ लाख रुपैयाँ भाडा तोकेर वि।सं २१३२ साल सम्मका लागि पूर्व पदाधिकारीहरूले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा सम्झौता गरेको बताइन्छ ।

Categorized in राष्ट्रिय