arin enterprises

सगरमाथा आरोहणका लागि बाटो निर्माण सम्पन्न

SamacharDesk | २०८१ बैशाख २९, शनिबार

यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ ।

हिजो बेलुका ८ बजेर १५ मिनेटमा १० जना नेपाली शेर्पाहरुले सफल आरोहण गरेपश्चात यो वर्षको पहिलो सगरमाथा आरोहण समापन भएको हो । यही समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ ।

हिउँमाथि डोरी टाँग्ने र भ¥याङ बनाउने काम सम्पन्न भएकाले अब अरु आरोहीका लागि सगरमाथा आरोहणको बाटो खुला भएको पर्यटन विभागले जानकारी दिएको छ ।

यस वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४१ वटा आरोहण दलका ४ सय १४ आरोहीले अनुमति लिएका छन् । अनुमति लिनेमा ३३९ पुरुष र ७५ जना महिला रहेका छन् ।

गत वर्षको यही सिजनमा हालसम्मकै सबैभन्दा बढी ४७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।  आर्थिक सर्वेक्षण अनुसार नेपाल आउने पर्यटकमध्ये १७ प्रतिशत पर्यटक पदयात्रा र पर्वतारोहणमा जाने गरेका छन् ।

नेपालमा झन्डै तीन हजार हिमाल छन् । विश्वका आठ हजार मिटरमाथिका १४ हिमालमध्ये आठ वटा हिमाल नेपालमा छन् ।

त्यस्तै छ हजार मिटरमाथिका एक हजार ३१० हिमाल नेपालमा छन् । यी हिमाल खर्चालु पर्यटक नेपाल भित्र्याउने बलिया आधार मात्रै होइनन्, नेपाल र नेपालीलाई विश्वमाझ चिनाउने आधार र देशका अर्थतन्त्र उकास्ने माध्यम पनि हुन् ।

यी हिमाल आरोहणका लागि विदेशी पर्यटक नेपाल आउँदा सरकारलाई राजस्व मात्रै प्राप्त नभई हवाई कम्पनीदेखि होटल, आरोहण एजेन्सी, भरिया, पथप्रदर्शकसम्मले रोजगारी पाउँछन् ।

Categorized in राष्ट्रिय