arin enterprises

यस वर्षको बुद्ध जयन्ती इखाछेँमा मनाइने

SamacharDesk – बिजयरत्न | २०८१ बैशाख ३१, सोमबार

यस वर्षको २५६८औं बुद्ध जयन्ती पाटनमा ललितपुर महानगरपालिका (लमनपा) वडा नं. ११ इखाछेँ टोलमा मनाइने भएको छ ।

२५६८औं बुद्ध जयन्ती समारोह समितिले पाटनमा पत्रकार सम्मेलन गर्दै २५६८औं बुद्ध जयन्ती इखाछेँ पाटनमा भव्य रुपमा मनाउन लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा समारोह समितिका अध्यक्ष यज्ञमान शाक्यले भगवान बुद्धको जन्म, बोधिज्ञान प्राप्त र महापरिनिर्वाण तीनवटै घटनाको महत्व उजागर गर्ने गरी यस वर्षको बुद्ध जयन्ती मनाउने बताए ।

‘बुद्ध जयन्तीको दिन तथागत भगवान बुद्धको जन्म, बोधि ज्ञान प्राप्त र महापरिनिर्वाण, यी त्रिसंयोग भएको दिन हो । यसैको प्रतीकसहित यस वर्षको शोभा यात्रा गर्ने योजना छ’ समारोह समितिका अध्यक्ष शाक्यको भनाई हो ।

बुद्ध जयन्ती समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २२ वटा उपसिमित पनि गठन गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

पत्रकार सम्मेलनमा ललितपुर बुद्ध जयन्ती कोषका अध्यक्ष चन्द्रमान शाक्य, लमनपा वडा ११ का वडाध्यक्ष अरोजकुमार खडगी, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन लगायतले बुद्ध र बौद्ध धर्म सम्वन्धि विभिन्न जानकारीसहित आआफ्ना मन्तव्य राखेका थिए ।

Categorized in संस्कृति