arin enterprises

चीनको अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपाल पुरस्कृत

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ जेठ ६, आइतबार

चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’ प्रदान गरिएको छ ।

जेठ ३ देखि ५ (मे १६ देखि १८) सम्म भएको फेयरमा पाटा नेपाल च्याप्टरले चाइना आउटबण्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी) बाट ‘ओभरअल परफरमेन्स अवार्ड’ प्राप्त गर्यो ।

साथमा पाटा नेपाल च्याप्टरले ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ)  बाट ‘बेस्ट पार्टनर अवार्ड’ पनि प्राप्त गरेको छ ।

नेपालबाट सहभागी जुगल हलिडेजले मेलामा ‘गोल्ड अवार्ड फर प्रोडक्ट इनोभेसन’ प्राप्त गरेको फेयरमा सहभागी नेपाल पर्यटन बोर्डका अधिकृत प्रदीप गैरले जानकारी दिए ।

जीआइटीएफ २०२४ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालबाट पाटा नेपाल च्याप्टर र ७ ट्राभल एजेन्सी तथा होटलको सहभागिता रहेको थियो । कोभिड–१९ महामारीपछि जीआइटीएफमा नेपालको यो पहिलो सहभागिता हो ।

उद्घाटन समारोहमा ग्वाङ्जाओका लागि नेपालका कार्यवाहक महावाणिज्यदूत सरोज भट्टराई सहभागी भएका थिए । सो अवसरमा पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले नेपालको पर्यटन सम्भाव्यताबारे प्रस्तुति दिएका थिए ।

चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेको अवस्थामा ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा नेपालको सहभागिताले पर्यटन प्रर्वद्धनमा थप सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ ।

नेपालले यस अघि सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट ( एटीएम–२०२४) को ३१ औं संस्करणमा सहभागिता जनाएको थियो । 

Categorized in राष्ट्रिय