घरघरमै ज्येष्ठ नागरिक भत्ता पुर्याउँदै काठमाडौं महानगरपालिका
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ १९, सोमबार

लकडाउन जारी रहेकै बेला काठमाडौँ महानगरपालिका वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन इखापोखरीकी ८९ वर्षीया विष्णुप्रिया मालीको निवासमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ता बोकेर पुग्दा मालीको अनुहारमा खुशीको चमक देखिन्थ्यो ।
वडाध्यक्ष महर्जनले मालीको हातमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ताका रुपमा रु १२ हजार थमाएपछि विष्णुप्रियाले नेवार लवजमै औधी खुशी लागेको प्रतिक्रिया दिनुभयो ।
लामो समयदेखि थाइराइड र प्रेसरको औषधी नियमित सेवन गरिरहनु भएका जोशी गल्लीका ८७ वर्षीय राजाराम जोशीले काठमाडौँ महानगरपालिकाले घरमै आएर उपलब्ध गराएको बरिष्ठ ज्येष्ठ नागरिक भत्ताबाट थाइराइड र प्रेसरको औषधी किन्ने बताउनुभयो ।
‘तीन वर्षदेखि नियमित रुपमा यो भत्ता वडामा गएर लिन्थे,’ उहाँले भन्नुभयो, ‘आज जनप्रतिनिधि नै घरमै भत्ता बोकेर आउँदा खुशी लाग्यो । मेरो औषधी सकिन लागेको थियो । अब आज–भोलि नै औषधी किन्छु । ’
वडा–१८ कै भुरुङखेलकी ८८ वर्षीया सुधादेवी प्रधानले पनि यसरी जनप्रतिनिधिलाई भत्तासहित आफ्नै निवासमा देख्दा स्थानीय सरकार घर–दैलोमै आएको अनुभव सुनाउनुभयो । ‘लकडाउनको बेलामा हामी वडासम्म जाने अवस्था थिएन । जनप्रतिनिधि नै भत्ता बोकेर आफ्नै निवासमा आउँदा औधी खुशी लागेको छ ।’
काठमाडौँ महानगरपालिकाले माली, जोशी र प्रधानलाई मात्रै होइन ३२ वटै वडामा स्थायी वासोवास गर्ने ७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुष बरिष्ठ ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर महानगर बिशेष भत्ता उपलब्ध गराउँदै आएको छ ।
३२ वटै वडामा स्थायी वसोवास गर्ने यस्ता बरिष्ठ ज्येष्ठ नागरिक ९ हजार १ सय १७ जना छन् ।
त्यसैगरी महानगरपालिकाले पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई पनि यहि बेला बिशेष भत्ता घरघरमै पुर्याउँदै छ । त्यसका लागि महानगरपालिकाले ३२ वटै वडालाई रकम निकासा गरिसकेको छ ।
केही वडाले वितरण सुरु गरेका छन् भने केहीले तत्कालै सुरु गर्ने जानकारी दिएका छन् ।
‘अहिले मुलुक लकडाउनमा रहेको अवस्थामा बरिष्ठ ज्येष्ठ नागरिकलाई महानगरपालिकाले वितरण गरेको बिशेष भत्ताले केही राहत महशुस होस भनी घरघरमै लगेर वितरणको व्यवस्था गरेका हौँ’ कामपा प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो ।
उहाँले विगतमा महानगरपालिकाले विशेषज्ञ चिकित्सकको टोलीसहित ज्येष्ठ नागरिकको घरघरमै गई निशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने लगायतका काम गरेको जानकारी दिनुभयो । शाक्यले नेपाल सरकारले ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाहेक काठमाडौँ महानगरपालिकाले छुट्टै वार्षिक १२ हजार रुपैयाँ बिशेष भत्ता उपलब्ध गराउँदै पनि जानकारी दिनुभयो ।
उहाँले जेष्ठ नागरिकहरुका लागि मनोरञ्जन तथा सेवा केन्द्र स्थापना गर्ने, वृद्ध–वृद्धा मनोरञ्जन पार्क निर्माण गर्ने जस्ता कार्यमा पनि महानगरपालिका लागिरहेको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोलले जेठ २० भित्रमा सबै वडामा वितरण गरिसक्ने गरी रकम निकासा गरेको जानकारी दिनुभयो ।
‘यो भत्ताले एकातिर यो कठिन अवस्थाका बेला केही खर्च टर्नेछ भने अर्कोतर्फ मतदातासँग एकपटक पुनः साक्षत्कार गर्ने र उहाँहरुको समस्या बुझ्ने अवसर प्राप्त हुनेछ’ कामपा प्रवक्ता डंगोलको भनाई थियो ।
काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले ९ हजार १ सय १७ बरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई महानगर बिशेष भत्ता उपलब्ध ३२ वटै वडालाई रु ११ करोड ६ लाख १७ हजार निकासा गरेको जानकारी दिनुभयो ।
वडा नम्बर –२६ का अध्यक्ष ख्याम तिवारीले काठमाडौँमै घर भए पनि कतिपय बेरोजगार रहेको, दुई छाक खानका लागि पनि धौ–धौ हुने अवस्था रहेको भन्दै यस्तो बेलामा यो भत्ताले राहत हुने पनि बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले अघिल्लो वर्ष ५ हजार ६ सय २१ महिला र १ हजार ९ सय ३६ पुरुष गरी ७ हजार ९ सय ५७ जनालाई बिषेश भत्ता उपलब्ध गराएको थियो ।
Categorized in स्थानीय