arin enterprises

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

SamacharDesk | २०८१ जेठ ८, मंगलबार

सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मंगलबार विवरण राखिएको हो । सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ।

यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ। उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ। त्यस्तै प्रधानमन्त्री प्रचण्डको विवरणमा पाँच तोला सुन राखिएको छ ।

जुन प्राप्तिको स्रोत पैतृक देखाइएको छ । त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ।

यस्तै २५ लाख रुपैया बैंक, वित्तीय तथा सहकारी संस्थामा रहेको विवरणमा जनाइएको छ । त्यस्तै सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठसँग ४३ तोला सुन रहेको छ।

त्यस्तै साढे एक किलो चाँदी रहेको छ। जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा-४ कट्ठा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका-९ नम्बर वडामा ३ कट्ठा ११ धुर जग्गा रहेको खुलाइएको छ।

यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाउनुभएको छ।

यस्तै ग्लोबल आइएमई बैङ्कमा ५ हजार रुपियाँ, नेपाल बैङ्क लिमिटेडमा एक लाख ५ हजार रुपियाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाउनुभएको छ। 

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठको गोरखा सिरानचोक-८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गर्नुभएको छ।

Categorized in राष्ट्रिय