“आइपीभी” खोप अभियान प्रारम्भ
SamacharDesk | २०८१ जेठ १३, आइतबार

सरकारले आजदेखि पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ ।
यो अभियान आजदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइनेछ ।
पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र ज्यानैसमेत जान सक्छ । पोलियो विषाणुले मुख्य गरी साना बालबालिकालाई सङ्क्रमित बनाउने गर्छ ।
नेपालमा सन् २०१० यता पोलियो रोग देखिएको छैन । विश्वव्यापी रूपमा अभाव भएका कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप लगाउन पाएका थिएनन् ।
सो समयमा नियमित खोप लगाउने नपाएकाहरुलाई अहिले अभियानमार्पmत खोप लगाउन लागिएको हो । त्यस बेला खोप नपाएका बालबालिकामा पोलियो रोगको जोखिम हुनसक्ने भएकाले त्यस्तो जोखिमलाई ध्यानमा राखेर अभियान चलाउन लागिएको हो ।
नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको छ ।
Categorized in राष्ट्रिय