arin enterprises

निलम्वित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा

SamacharDesk | २०८१ आषाढ ११, सोमबार

सरकारले निलम्वित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव अर्याललाई सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो ।

मन्त्रीपरिषद्को बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो, ‘नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानूनबमोजिम निज स्वतः निलम्वन हुनुभएको छ ।

हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने ।”

उनी निलम्बनमा परेपछि निमित्त मुख्य सचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिइएको छ । गड्तौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Categorized in राष्ट्रिय