काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित
SamacharDesk | २०८१ आषाढ २६, मंगलबार

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
महानगरको आज बसेको १५औं सभाले उक्त नीति तथा कार्यक्रममा महानगरको कार्यपालिका हलमा व्यापक छलफल भएपछि संशोधन प्रस्ताव ‘यथासम्भव सम्बोधन’ गरी पारित भएको हो ।
आगामी आर्थिक वर्षमा महानगरले १० वटा गौरवका योजना र २५ वटा स्वर्णिम योजना समावेश गरेको छ ।
महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट पारित गर्नुअघि छलफल चलाइएको थियो ।
यही असार १० गते केही वडाध्यक्षहरुले जबर्जस्ती बजेटमा संशोधन हाल्न खोजेपछि बजेट पारित नगरी सभा स्थगित गरिएको थियो ।
नगरसभाको सदस्यहरुको प्रतिनिधित्व गर्दै तीन वडाध्यक्षहरु वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुली र वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले नीति तथा कार्यक्रममाथि अध्ययन गरेर संशोधन प्रस्ताव तयार गरी असार २ गतेको नगरसभा बैठकमा पेस गरेका थिए ।
नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै पारित गरिएको हो ।
Categorized in स्थानीय