कामपाबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा प्रारम्भ
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ २८, बुधबार

बन्दाबन्दीको समयमा विद्यार्थीहरु पठनपाठनबाट बञ्चित हुन नपरोस भन्दै काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ ।
बन्दाबन्दीमा सबै विद्यालयहरु बन्द रहँदा बैकल्पिक माध्ययमबाट पठनपाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ. एम.मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो एफ. एम. ९४.६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रमको आज शुभारम्भ गर्नुभयो ।
सो अवसरमा प्रमुख शाक्यले शिक्षा बिभागका अधिकारी र प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
‘पूर्वाधार उपलब्धताका दृष्टिले पनि महानगर क्षेत्रभित्रका संस्थागत र सामुदायिक बिद्यालय बीच अन्तर नहोस्’ उहाँले भन्नुभयो, ‘जारी लकडाउनका कारण बिद्यालयहरुमा शैक्षिक कार्यक्रम अहिले बन्द छन् । यही बेला पूर्वाधार सुधारको कामलाई निरन्तरता दिनुहोला ।’
रेडियो शिक्षालाई सल्लाह र सुझावका आधारमा थप प्रभावकारी बनाउँदै लैजाने पनि जानकारी दिनुभयो
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई समेत बन्दाबन्दीका बेला पनि निरन्तरता दिँदै आएको छ ।
कामपाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका विरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने जस्ता कार्यलाई निरन्तरता दिँदै आएको छ ।
प्रमुख शाक्यले उलडकडाउनका कारण शिक्षक, बिद्यार्थी र अभिभावकले पारिवारिक व्यवस्थापनका लागि आर्थिक र सामाजिक समस्यासँग जुधिरहेको अवस्थामा उहाँहरुलाई सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्ने बताउनुभयो ।
उहाँले रेडियो शिक्षालाई सल्लाह र सुझावका आधारमा थप प्रभावकारी बनाउँदै लैजाने पनि जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महामारीले निम्त्याएका प्रमुख समस्याहरुमध्ये शैक्षिक सत्र व्यवस्थापन पनि एक भएको भन्दै यसलाई सहज बनाउँदै लैजाने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती प्रसाद भट्टराईले आजबाट सुरु रेडियो शिक्षामार्फत महानगरपालिका भित्र रहेका ९१ वटा सामूदायिक बिद्यालय ३ वटा विशेष विद्यालय र ६ सय ४३ वटा संस्थागत विद्यालयलमा अध्ययनरत विद्यार्थीहरु प्रत्यक्ष–अप्रत्यक्षरुपमा लाभान्वित हुने बताउनुभयो ।
सूचना प्रबिधि बिभागका निमित्त प्रमुख युवराज खनालले रेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको जानकारी दिनुभयो ।
शिक्षा बिभागका अनुसार रेडियो शिक्षा कार्यक्रममा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या र वातावण, पेशा व्यवसाय र प्रविधि बिषय समावेश गरिएका छन् ।
यसैगरी कक्षा १ को एकीकृत पाठ््यक्रम अनुसारका नेपाली, अंग्रेजी र मेरो सेरोफेरो विषय पनि समावेश हुनेछन् ।
अहिलेको कार्यक्रम शैक्षिक सत्र २०७७ को अन्तिम नतिजा समेत प्रकाशन गर्ने लक्ष्यसहित सुरु गरिएको विभागको भनाई छ ।
रेडियो शिक्षा कार्यक्रमलाई विस्तार र स्तरउन्नति गर्दै अनलाइनमा आधारित प्रयोगात्मक र प्रदर्शनात्मक कक्षा चलाइनेछ । त्यस्तै कार्यक्रमको मुल्याङ्कन र प्रभावकारिता बिश्लेषणका लागि प्रबधिमा आधारित प्रणाली बिकास गरिनेछ ।
रेडियो शिक्षा कार्यक्रम बिद्यालयका शिक्षकहरुले सञ्चालन गर्नेछन् भने सहजीकरणको काम रेडियोकर्मीहरुबाट हुनेछ ।
दैनिक कक्षा शिक्षक व्यवस्थापन गर्ने, बिषय तालिका मिलाउने, दैनिक पाठ योजना स्वीकृत गर्नका लागि २ तह बनाएर जिम्मेवारी दिइएको छ । जसमा कक्षा १ देखि कक्षा ६ सम्मको संयोजन सरस्वती निकेतन मा. वि. का प्रधानाध्यापक रविना महर्जनलाई र कक्षा ७ देखि १० सम्मको संयोजन बिश्व निकेतन मा. वि. का प्रधानाध्यापक हेरम्बराज कँडेललाई जिम्मा दिइएको छ ।
Categorized in स्थानीय