माइक्राे र स्कुटर ठाेक्किँदा दुई जनाको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८२ बैशाख ७, आइतबार

तनहुँको भानु नगरपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
भानु नगरपालिका–१० नेपालडाँडास्थित डुम्रे बेसीशहर सडकमा माइक्रो बस र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
बा.२ ख ४०२२ नम्बरको माईक्रो बस र ग.२६ प ४०५८ नम्बरको स्कुटर आइतबार दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटरमा सवार लमजुङ बेसीशहर नगरपालिका–८ बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै माईक्रोमा सवार मनाङ नासोँ गाउँपालिका–८ बस्ने ४० वर्षीय मन घलेको नमुना सामुदायिक अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक तथा माइक्रोमा सवार गरी १२ जना मध्ये ५ जनाको भोटेओडार अस्पताल प्रालि सिउँडीबार लमजुङमा उपचार भइरहेको छ ।
साथै ३ जनाको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ भने चार जनालाई थप उपचारको लागि सिएमसी अस्पताल भरतपुर रिफर गरिएको छ ।
प्रहरीले माइक्रो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in समाज