भक्तपुरमा सम्पदा पदयात्रा सम्पन्न
SamacharDesk – केके मानन्धर | २०८२ मङ्सिर ४, बिहिबार
भक्तपुरमा सम्पदा पदयात्रा सम्पन्न भएको छ ।
सम्पदा चिनौं र चिनाऔं महाअभियान अन्तर्गत नगरका विभिन्न ठाउँमा अवस्थित मूर्त सम्पदाहरुको स्थलगत अवलोकन र अध्ययन गर्ने उद्देश्यले भ्रमण आयोजना गरेको बताइएको छ ।
कमल विनायकस्थित याथुर बिहारबाट सुरू भएको पदयात्रा च्याम्हसिंहस्थित देगइना, हनुमान घाटस्थित खुसि बिहार, सुकुलढोकाको लुँबहि, विश्वकर्मा घरस्थित चैत्यस्थल, दीपंकर प्रशन्नशील महाबिहार, शारदा मा.वि. परिसरको चैत्यस्थल हुँदै इनाचोस्थित मुनि बिहारमा समापन भएको थियो ।
सम्पदा पदयात्रामा सहभागीहरुलाई इतिहासका अध्येता सुरेश ज्योति शाक्यले नगरभित्रका सम्पदाहरुको ऐतिहासिक र पुरातात्विक महत्त्वको विषयमा जानकारी गराएका थिए ।
पदयात्राको क्रममा सहभागीहरुले नगरबाट पूर्वी भेगमा अवस्थित वाचु हिटी परिसरमा थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
हाल ढुङ्गेधारा र विभिन्न देवीदेवताहरुका मूर्ति रहेको ठाउँमा भिक्षुनी संघ रहेको शाक्यले दाबी गरे । तत्कालीन समयमा वाचु हिटी परिसरमा संघ रहेको प्रमाणित गर्ने अभिलेख सुरक्षित रहेको उहाँले बताउनुभयो ।
मुनि बिहारका प्रमुख विपस्सी धम्मारामो महास्थविरले बिहार बन्नको लागि न्यूनतम आवश्यकीय मापदण्डको विषयमा धारणा राखेका थिए ।
करिव ३ घण्टा भएको सम्पदा पदयात्राको लागि ध्यान सम्बन्धिका अध्येता भेषराज मानन्धर र बौद्ध दर्शन सम्बन्धिका अध्येता बसन्त महर्जनले संयोजन गरेका थिए ।
कार्यक्रममा पुरातत्व विभागका प्रतिनिधि, काभ्रेको बनेपा, भक्तपुर, काठमाडौं, मध्यपुर, कीर्तिपुर, ललितपुरबाट संस्कृति अध्येताहरुको सहभागिता थियो ।
Categorized in संस्कृति




