विश्वकप उपविजेता नेत्रहीन महिला क्रिकेट टोलीलाई कामपाबाट सम्मान
SamacharDesk – बिराज | २०८२ पौष २१, सोमबार
काठमाडौँ । फस्ट विमेन्स टीट्वान्टी वल्र्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
क्रिकेट एशोसिएसन फर द व्लाइन्ड इन इन्डियाले गएको कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना गरेको वल्र्डकपमा नेत्रहीन महिला क्रिकेट टोलीले भाग लिइ उपविजेता बन्न सफल भएको थियो ।
वर्ल्डकपका उपविजेता टीमलाई महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्मान गरे । राशी सम्मानमा खेलाडीहरुले जनही १ लाख रुपैयाँ र व्यवस्थापकले जनही ५० हजार रुपैयाँ प्राप्त गरे भने नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कामपा सामाजिक समितिका संयोजक के. सी. ले नेत्रहीन महिला क्रिकेट टोलीलाई आगामी प्रतिस्पर्धाका लागि आवश्यक पर्ने व्यवस्थापकीय सहयोग महानगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
सरकारको तर्फबाट पाएको यो पहिलो सम्मानको मूल्य नगद वा जिन्सी वस्तुसँग तुलना गर्न नसकिने टीम क्याप्टेन गीता पौडेलले भने ।
‘हाम्रा लागि खेल अभ्यास गर्ने मैदानको खाँचो छ । काठमाडौँ महानगरपालिकाले हाम्रा लागि त्यो पूर्वाधार उपलब्ध गराउँछ भन्ने विश्वाश गरेका छौँ ।’ क्याप्टेन पौडेलको भनाई हो ।
उपविजेता टोलीमा कप्तान गीता पौडेल र उपकप्तान विनिता पुन छन् ।
टोलीमा सुस्मा तामाङ्, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाइ, कान्ती चौधरी, बिमला राई, सुजिता थापा, एञ्जिला ढकाल र सुनिता भुजेल रहेका छन् ।
खेलका प्रशिक्षक पुरनसिंह खत्री, सहप्रशिक्षक नहेन्द्र निरौला, व्यवस्थापक भगवती भट्टराई बराल, सहव्यवस्थापक भावना के. सी. र टोली नेता पवन घिमिरे हुनुहुन्छ ।
Categorized in स्पाेर्ट्स




