लखन थापाको स्मृतिमा दौड प्रतियोगिता
SamacharDesk – विजयरत्न | २०८२ माघ २९, बिहिबार
नेपालका प्रथम शहिद लखन थापा मगरको ऐतिहासिक योगदान र बलिदानको स्मरणमा खुल्ला दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
मगरको १४९औं स्मृति दिवसको अवसरमा प्रथम शहिद लखन थापा मगर स्मृति खुल्ला दौड प्रतियोगिता आउँदा फागुन २ गते शनिबार हुन लागेको हो ।
प्रतियोगिताको आयोजक नेपाली कल्चरले पत्रकार सम्मेलनको आयोजना गरी शनिवार बिहान ६ बजे काठमाडौंको शहिद गेटबाट दौड प्रतियोगिता सुरु हुने जानकारी गराएको छ ।
नेपाली कल्चर मिडिया प्रालिको आयोजना, नेपाल मगर संघ, केन्द्रिय समितिको संरक्षकत्व साथै प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको संयोजनमा उक्त दौड प्रतियोगिता हुन लागेको हो ।
नेपालमा प्रजातन्त्र स्थापना गराउने उद्देश्यले पहिलोपटक राजनीतिक विद्रोह गरेको कारणले राणा शासक जंगबहादुरको ठाडो आदेशमा वि.सं.१९३३ फागुन २ गते झुन्ड्याइएका लखन थापा मगर नेपालका प्रथम सहिद हुन् ।
लखन थापा मगरको नेतृत्वमा दुई हजार भन्दा बढी नेपाली जनताहरु संगठित भइ वि.सं. १९२७ देखि १९३३ सम्म राणा शासनविरुद्ध पहिलो जनविद्रोह गरेका थिए । नेपाल सरकारले लखन थापा मगरलाई वि.सं. २०७२ असोज ३ गते नेपालको प्रथम सहिद घोषणा गरेको हो ।
एक हजारभन्दा बढिको खुल्ला सहभागितामा प्रतियोगिता १० किलोमिटर दूरीको रहने आयोजकाका संयोजक रक्ष बहादुर रैका मगरले बताएका छन् ।
आयोजकका अनुसार उक्त प्रतियोगिता महिला तथा पुरुष विधामा छुट्टाछुट्टै सञ्चालन गरि दुबै विधामा प्रथम, द्वितीय र तृतीय, सान्त्वना स्थान हासिल गर्ने धावक तथा धाविकाहरूलाई पुरस्कृत गरिनेछ ।
पुरस्कारमा ट्रफी, मेडल तथा प्रमाणपत्रको साथमा नगद पुरस्कार समेत रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा दक्षिण एशियाली खेलकुद साफमा लगातार ४ पटक स्वर्ण पदक विजेता र एसियाली खेलकुदमा सहभागिता जनाउने पहिलो नेपाली एथलेट मध्येका एक वैकुण्ठ मानन्धर लगायतका धावकहरुको समेत उपस्थिति रहनेछ ।
यससँगै आयोजक संयोजक मगरले फागुन १३ गते दिउँसो १ बजे नाचघरमा सांस्कृतिक कार्यक्रम गरिने बताएका छन् । उनले सांस्कृतिक कार्यक्रमबाट उठेको सहयोगले प्रथम सहिद लखन थापा मगर स्मृति भवन निमार्णमा योगदान पु¥याउने बताए ।
Categorized in स्पाेर्ट्स




