नेपाल प्रहरीले पछिल्लो ६ महिनामा कहाँ कहाँ के के गर्यो ?
SamacharDesk – बिराज | २०८३ जेठ १४, बिहिबार
नेपाल प्रहरीले गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान तथा कानुनी कारबाही, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा, विपद् व्यवस्थापन तथा सुरक्षा परिचालनका क्षेत्रहरूमा गरेका गतिविधिहरुको विवरण सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो ६ महिनामा देशभरबाट ४ हजार ६६६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।
उक्त अवधिमा गाँजा २२ हजार ६२० किलो, चरेस ४४३ किलो, खैरो हेरोइन १९ किलो, पोलेन १४ किलो, अफिम १६ किलो तथा नाइट्राभेट ३५ हजार ९ सय ३ ट्याब्लेट, डाइजेपाम २४ हजार ३ सय ८७ एम्पुल बरामद गरेको छ ।
साथमा फेनारगन ३५ हजार ४ सय ५७ एम्पुल, ब्रुप्रेनोर्फिन २३ हजार ६ सय ९६ एम्पुल, लुपिजेसिक ४२ एम्पुल, स्पास्मो ६९ हजार ८७८ ट्याब्लेट, ट्रामा ६ लाख ८२ हजार १ सय ५८ ट्याब्लेट, प्रोमेथाजाइन १ हजार ७४ ट्याब्लेट समेत बरामद भएको छ ।
सो अवधिमा ११ हजार १०९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ४ हजार ४७० वर्ष कैद सजाय कार्यान्वयनमा आएको र १ अर्ब १० करोड ३८ लाख ९४ हजार ६२५ रूपैयाँ बराबरको जरिवाना असुल उपर गरिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा ३ अर्ब ११ करोड ५२ लाख ६३ हजार ३१० रूपैयाँ बिगो रकम दाबीसहित १०३ जना प्रतिवादी विरूद्ध कानुनी कारबाही गरिएको छ ।
करिब १ अर्ब रूपैयाँ बराबरको सुन, चाँदी, भन्सार छली, हुण्डी, स्रोत नखुलेको रकम लगायतका राजश्व चुहावटका गतिविधिमा संलग्न ७ ५८ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिएको छ ।
यसैगरी अवैध हातहतियार तथा विष्फोटक पदार्थ सहित १२७ जनालाई पक्राउ गरिएको छ, जसबाट ६१५ थान हतियार सहित ठूलो परिमाणमा गोली, बारूद, डेटोनेटर, एभ्प् लगायतका विष्फोटक पदार्थहरू बरामद भएका छन् ।
साइबर अपराधका ५८ मुद्दा दर्ता गरी विद्युतीय माध्यमबाट ठगी भएको ८ करोड ८५ लाख ३१ हजार ६७० रूपैयाँ पीडितलाई फिर्ता दिलाइएको छ ।
मानव बेचविखन तथा ओसारपसार अपराधमा संलग्न ४१ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ ।
सो अवधिमा देशभर ज्यान सम्बन्धी कसुरका ४ हजार २३७, आत्महत्या सम्बन्धी ३ हजार ४१४, चोरी सम्बन्धी २ हजार ५९, संगठित तथा आर्थिक अपराध सम्बन्धी ४ हजार ५४० मुद्दा दर्ता गरी कानुनी कारवाही गरिएको छ ।
त्यस्तै सामजिक अपराध सम्बन्धी ५ हजार ४६५, महिला तथा बालबालिका सम्बन्धी १ हजार ९३५, सवारी सम्बन्धी १ हजार ४८० र विविध ७ हजार १४६ गरी कुल ३० हजार २७६ मुद्दा दर्ता गरी कारबाही गरिएको छ ।
यस्तै सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धी ८२ हजार २१७ वटा जनचेतनामूलक कार्यक्रम संचालन भएको छ ।
जसबाट ४५ लाख ५६ हजार ८९२ जना लाभान्वित भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार १३९ सवारी साधनलाई कारबाही गरी ४९ करोड ९१ हजार ४६३ रूपैयाँ राजश्व संकलन गरिएको छ ।
नेपालभरका राजमार्ग तथा सिमानाकामा गरी १९ वटा स्थानमा Traffic Communication App (TCA) संचालनमा रहेको, देशभरका ७७ वटै जिल्लाका २२८ वटा युनिटमा Traffic Violation Record System (TVRS) संचालन भइरहेको छ ।
साथै नागरिकको सुविधालाई मध्यनजर गरी देशव्यापी रूपमा EChallan (Digital Chit) लागु गरिएको छ ।
यसै अवधिभरमा देशभर विभिन्न स्थानमा भएका ४ हजार २०६ विपद्का घटनाहरूमा २३ हजार ४८४ जना प्रहरी परिचालित भई २१३ जना नागरिकहरूको उद्धार समेत गरिएको छ ।
प्रहरीका अनुसार देशभर विभिन्न स्थानमा भएका बन्द, हडताल लगायतका बिरोध कार्यक्रमको सुरक्षार्थ ५९ हजार ६२ जना प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्थापन गरिएको छ ।
साथै नेपाल प्रहरीद्वारा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानका सुकुम्बासी एवम् भूमिहीन नागरिकहरूको व्यवस्थापन कार्यमा आवश्यक सहजीकरण गरिएको छ ।
Categorized in राष्ट्रिय




