arin enterprises

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न

SamacharDesk – बिराज | २०८३ आषाढ १६, मंगलबार

काठमाडौं । प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार उक्त समारोहको आयोजना भएको हो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले तालिमका प्रशिक्षार्थीहरुलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरे ।

सोही कार्यक्रममा शाहले तालिम सम्बन्धी गतिबिधि समेटिएको पुस्तक ‘सङ्कल्प’ को विमोचन समेत गरेका थिए ।

कार्यक्रममा शाहले नेपाल प्रहरीमा प्राविधिक समूहले अपराध नियन्त्रण र अनुसन्धान, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका संगठनको मुख्य जिम्मेवारीका क्षेत्रहरूमा अतुलनीय सहयोग पुर्याउँदै आएको चर्चा गरे ।

तालिमबाट आर्जन गरेको पेशागत ज्ञान, सीप र कौशललाई सम्पूर्ण प्रशिक्षार्थीहरूले मन, वचन र कर्मले आ–आफ्नो कार्यक्षेत्रमा लागु गर्दै उच्चस्तरको कार्यसम्पादन गर्न शाहले निर्देशन दिए ।

प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गरा एभने तालिम संयोजक प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।

गत माघ २१ गतेबाट संचालित सय दिने कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २४ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक २८ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको थियो । 

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

Categorized in राष्ट्रिय