भीम तुलाधरको दशैं गीत ‘मोहनि वल’ सार्वजनिक
SamacharDesk – बिराज | २०८३ आश्विन २६, सोमबार
चर्चित गायक भीम तुलाधर लगायत १० जना गायक कलाकारहरुबाट गाइएको नेपालभाषाको दशैं गीत ‘मोहनि वल’ सार्वजनिक भएको छ ।
शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै गायक साथै गीतका संगीतकार तुलाधरले भाषा, कला, संस्कृतिको उत्थान, संरक्षण एवम् प्रवर्ध्दनका लागि आफु संगीत क्षेत्रमार्फत निरन्तर लागिरहेको बताउँदै साथ र सहयोगको लागि सबैसँग आग्रह गरे ।
‘चाडबाड, जात्रापर्व लगायतका हाम्रो संस्कृति पुस्तान्तरणको लागि संगीत राम्रो माध्यम बन्न सक्छ । एउटा कोशिश हो, संस्कृतिको संरक्षण र पुस्तान्तरणमा, तपाईँहरुको साथ सहयोगको अपेक्षा राखेको छु’ गायक तुलाधरले भने ।
त्यसैगरी नेपालभाषाको पाक्षिक पत्रिका पेजथ्रीका सम्पादक दर्शनवीर शाक्यले गीतको भिडियोमा पुर्खाले चलाउँदै आएको परम्परादेखि आधुनिक समाजमा देखिएका चलनहरु पनि देखाइएको विचार राखे ।
सोही कार्यक्रममा गायक तुलाधरले आफुलाई संगीत क्षेत्रमा अगाडी बढ्न सुरुवाती दिनेदेखि नै साथ दिएको भन्दै आफ्नो ब्यान्ड द इन्फ्लुएन्सका ब्यान्ड मेम्बरहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा सार्वजनिक गरिएको म्यूजिक भिडियो ‘मोहनि नखः वल’ मा दशैंको अवसरमा चङ्गा उडाउने चलन, महाअष्टमीको दिनमा नेवारहरुको कूछिभ्वय् खाने परम्परा, दशमीको टीका आदिको दृश्य देखाइएको छ ।
गीतमा तुलाधरसँगै प्रवेशमान शाक्य, पवित्र कसाः, विनय स्थापित, कविता जोशी श्रेष्ठ, रत्न शोभा महर्जन, प्रतिमा बज्राचार्य र शुभेच्छा तुलाधरले आवाज दिएका छन् ।
साथमा हिमालय होटलका संचालक दिनेश तुलाधर र स्याकार कम्पनीका सौरभ ज्योतिलाई पनि नयाँ परिचय थपेको छ । व्यापारिक क्षेत्रमा चिर परिचित बनिसकेका दिनेश तुलाधर र सौरभ ज्योतिसमेतले यस गीतमा आवाज दिएका छन् ।
गीतको रचना अमृत रत्न शाक्यले गरेका छन् ।
बालकुमार मगर र अनिल मगरले छायाङ्कन गरेका दृश्यहरुलाई ईन्द्र मानन्धरले सम्पादन गरेका छन् । म्यूजिक भिडियोको निर्देशन सुरेन्द्र मानन्धरले गरेका छन् ।
भिडियोमा हिसिला महर्जन, शोभा महर्जन, सलोना बज्राचार्य, रचनाकार अमृतरत्न लगायत थुप्रै कलाकारहरुले अभिनय गरेका छ्न ।
यस गीतको म्यूजिक भिडियो ओएसआर मुभिज युट्युब च्यानलमार्फन सार्वजनिक भएको छ ।
Categorized in पेजथ्री




