arin enterprises

नेपाली भाषा – नेपालभाषा शब्दकोष सार्वजनिक

SamacharDesk – बिराज | २०८३ आश्विन ३०, शुक्रबार

काठमाडौं । सुरेन्द्र महर्जनबाट  संकलित ‘नेपाली भाषा – नेपालभाषा शब्दकोष’ सार्वजनिक भएको छ ।

आज (शुक्रवार) काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त शब्दकोषको लोकार्पण गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठ, नेपाली–नेपालभाषा शब्दकोष प्रकाशन समितिका सल्लाहकार अधिवक्ता युद्धमान महर्जन, प्रकाशन समितिका संयोजक तीर्थनारायण (राजु) महर्जन, संकलक सुरेन्द्र महर्जन, किरात स्वायत्त प्रदेश अभियानका अध्यक्ष नगेन्द्र किरात, नेपालभाषा स्यनामि दबूका अध्यक्ष रितेश मल्ल, ज्यापु महागुथि नेपाःका केन्द्रीय सदस्य ई. सानुबाबु महर्जन, संगीतकारद्वय सन्तोष श्रेष्ठ र शिव शाहीले लगायतले संयुक्त रुपमा शब्दकोषको लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै प्रज्ञा प्रतिष्ठानका उपकूलपति श्रेष्ठले मानव भाषाको विकासमा शब्दको महत्त्वपूर्ण स्थान रहेको विचार राखे ।

‘मेसोपोटामियाको सभ्यतामा माटोमा शब्द कुँडेर त्यसलाई पोलेर सुरक्षित गर्ने परम्परा थियो र यो  परम्परा नै शब्दकोषको प्रारुपका रुपमा लिन सकिन्छ’ श्रेष्ठले भने ।

आधुनिक शब्दकोषको शुरुवाट अमेरिकाबाट भएको बताउँदै श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले पनि समय समयमा शब्दकोष प्रकाशन गर्दै आएको बताए ।

प्रकाशन समितिका सदस्य शान्ता प्रजापतिले पुस्तकमा नेपालभाषामा बढी प्रयोग हुने ‘न्ह’, ‘म्ह’, ‘न्ह्य’ र ‘ल्ह’ अक्षरलाई चित्रात्मक रुपमा प्रस्तुत गरिएको बताइन् ।

उक्त नयाँवर्णहरु टंकनका लागि सुरेन्द्र नेवाः नामक फन्ट नै तयार गरिएको जानकारी पनि महर्जनले दिइन् ।

कार्यक्रममा शब्दकोष तयार गर्न विभिन्न किसिमले सहयोग गरेका व्यक्ति र संस्थाहरुलाई धन्यवाद पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा शब्दकोषका संकलक सुरेन्द्र महर्जनलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा शब्दकोषका संकलक महर्जनबाट रचित नासःद्यःको भजन पनि प्रस्तुत गरिएको थियो । 

Categorized in समाज