कन्टेन्ट क्रिएटरमार्फत् पर्यटन प्रवर्ध्दन गरिने
SamacharDesk – बिराज | २०८३ कार्तिक १५, शनिबार
काठमाडौं । कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रवर्ध्दन गरिने भएका छन् ।
नेपाल पर्यटन बोर्डले २०० भन्दा बढी कन्टेन्ट क्रिएटरलाई देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याएर त्यहाँको पर्यटन प्रवर्ध्दनका लागि कन्टेन्ट बनाउन लगाई दर्शकमाझ पुर्याउने लक्ष्य लिएको छ ।
कन्टेन्टमार्फत स्थानीय खानपान, भेषभुषा, कला, संस्कृति तथा लाइफस्टाइललगायत विधामा सक्रिय क्रिएटरमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिक जीवनशैलीलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले नयाँ तथा कम चिनिएका पर्यटकीय गन्तव्यसँगै नेपाली कला, संस्कृति, खानपान र जीवनशैलीलाई विश्वसामु चिनाउन कन्टेन्ट क्रिएटरहरूको सहभागितालाई प्रभावकारी रूपमा उपयोग गर्न आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले यस अभियानलाई पर्यटन प्रवद्र्धनमा मात्र सीमित नराखी नेपालमा कन्टेन्ट क्रिएसनलाई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत डिजिटल पर्यटन प्रवर्ध्दन, फोटो तथा भिडियो सामग्री उत्पादन, डिजिटल कन्टेन्ट बैंक निर्माण र कन्टेन्ट क्रिएटरसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ ।
सोही नीतिगत प्राथमिकतालाई कार्यान्वयन गर्दै बोर्डले विभिन्न विधाका २०० भन्दा बढी क्रिएटरलाई पर्यटन प्रवर्ध्दन अभियानमा जोड्न लागेको हो ।
यस अभियानअन्तर्गत क्रिएटरहरूले देशका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्नै सिर्जनात्मक शैली र विधाअनुसार फोटो, भिडियो तथा अन्य डिजिटल सामग्री उत्पादन गर्नेछन् ।
यसरी तयार हुने सामग्रीले नेपालको स्थापित पर्यटकीय गन्तव्यको प्रचारसँगै ओझेलमा परेका सम्भावनायुक्त गन्तव्यको पहिचान र प्रवद्र्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
परम्परागत पर्यटन प्रचार सामग्रीभन्दा फरक, व्यक्तिगत अनुभव, स्थानीय कथा, संस्कृति, खानपान र जीवनशैलीमा आधारित सामग्रीमार्फत सम्भावित पर्यटकलाई नेपालसँग जोड्ने यस अभियानको उद्देश्य छ ।
Categorized in बिजनेस




