व्याकुल माइला गोल्डकपको फाईनलमा सप्तरङ्गी र ज्वालामुखी
SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८३ कार्तिक १८, मंगलबार
ओखलढङ्गा । ओखलढुङ्गामा जारी १०औँ व्याकुल माइला गोल्डकप फुटबलको फाइनलमा ज्वालामुखी युवा क्लव र सप्तरङ्गी युवा क्लव आमने सामने हुने भएका छन् ।
ओखलढुङ्गाको सोक्मटारमा जारी प्रतियोगीतामा सप्तरङ्गी युवा क्लवले मानेभञ्ज्याङ युवा समूहलाई ट्राईब्रेकरमा ४ – ३ गोलअन्तरले पराजित गर्दै ज्वालामुखीसँगको उपाधी भिडन्त तय गरेको हो ।
यस अघि भएको प्रतियोगीताको पहिलो सेमिफाईनल खेलमा ज्वालामुखी युवा क्लवले दुधकौशीका आधारभुत विद्यालयलाई १ – ० गोल अन्तरले पराजित गर्दै फाईनल खेलमा आफ्नो स्थान पक्का गरेको हो ।
गत कार्तिक १० गते मंगलबारबाट सुरु भएको प्रतियोगीताको फाइनल खेल आज (मंगलवार) हुन लागेको छ । प्रतियोगीतामा विजेता टोलीले सिल्ड, मेडल र प्रमाणपत्रको साथमा तीन लाख ३३३ रुपैयाँ नगद पुरस्कार पनि हात पार्नेछ ।
त्यस्तै नगद पुरस्कारमा उपविजेताले एक लाख ५० हजार १११ रुपैयाँ र सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही ४० हजार १११ रुपैयाँ प्राप्त गर्नेछ ।
साथमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीलाई जनही पाँच/पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
सहभागी टोलीमध्ये उत्कृष्ट हुने एक टोलीलाई १० हजार रुपैयाँसहित ‘दिल–कर्ण बेस्ट टिम अवार्ड’ प्रदान गरिने आयोजक नयाँ नेपाल सरोकार समाजले जनाएको छ ।
अर्कोतर्फ तेस्रो रुपा स्मृति महिला फुटबल कपको फाईनलमा खोटाङ र ओखलढुङगा भिड्ने भएका छन् ।
ओखलढुङ्गाले सिन्धुलीको फिक्कल गाउँपालिकाको समूह र खोटाङले उदयपुरको समूहलाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । महिलातर्फको यस प्रतियोगीताको फाइनल खेल पनि आजै हुन लागेको छ ।
महिला फुटबलको विजेताले २५ हजार, उपविजेताले १५ हजार र सहभागी दुई समूहले ५/५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।
Categorized in स्पाेर्ट्स




