arin enterprises

काठमाडौंमा लक्ष्मी पूजा २३ गते

SamacharDesk – बिराज | २०८३ कार्तिक १८, मंगलबार

काठमाडौं । यस वर्षको तिहार नजिकिँदै जाँदा चाड मनाउने दिनको विवाद पनि चर्किँदै गएको छ ।

ठाउँ ठाउँमा विभिन्न समूहहरु वैठक, छलफल गर्दै आआफ्नो तर्क, विचार र शास्त्रीय प्रमाणहरु राख्दै तिहार मनाउने तिथिमिति टुङ्गो लगाउँदै विज्ञप्ती समेत प्रकाशन गरिरहेका छन् ।

यसै सन्दर्भमा आर्यावलोकितेश्वर सुधार समूह, कनकचैत्य महाविहार, जनबहालले काठमाडौंको लागि चाड मनाउने तिथिमिति सार्वजनिक गरेको छ ।

समूहले सार्वजनिक गरेको सूचना अनुसार आउँदा कार्तिक २१ शनिबार र २२ गते आइतबार क्रमशः काग तिहार र कुकुर तिहार मनाइनेछ ।

लक्ष्मी पूजा भने कार्तिक २३ गते सोमबार बनाउन समूहले अपिल गरेको छ । म्हपूजा कार्तिक २४ गते मंगलबार र कार्तिक २५ गते बुधबार भाईटीका गर्नसकिने समूहले बताएको छ ।

काठमाडौंमा चाडपर्वको तिथिमितिमा अन्यौल देखिए जनबहालले भने अनुसार गर्ने परम्परा रहि आएको छ ।

पछिल्लो समय लाग्दो तिथिमा चाड मनाउने हो वा छोड्दो तिथिमा भन्ने सम्वन्धमा निकै अन्यौल र विवाद देखिएको छ ।

कतिपयले चन्द्रमास अनुसार मनाइने चाडपर्वमा तिथि परेकै बेला चाड मनाउनुपर्ने तर्क राख्दै आएका छन् भने कतिले व्रत वा शुभ कार्यहरु सूर्यउदयसँग आउने तिथिमा गरिनुपर्ने तर्क गर्दै आएका छन् ।

यो विवाद विशेष गरी तिहारको समय हुने गरेको छ । लाग्दो तिथिमा चाड मनाउनुपर्ने तर्क राख्नेहरुले कार्तिक कृष्ण चतुर्दशीकै बेलुकी नै औंशी तिथि सुरु हुने भएकोले सोही दिन लक्ष्मी पूजा गर्नुपर्ने बताइरहेका छन् ।

त्यस्तै छोड्दो तिथिमा चाड मनाउने समूहले भने कार्तिक कृष्ण चतुर्दशी भनेको नरक चतुर्दशी भएको र सो दिन नै बेलुकी लक्ष्मी पूजा गर्ने भए उक्त दिन बेलुकी घरको कुनामा प्रज्वलन गर्नुपर्ने दियो कुन दिन प्रज्वलन गर्ने त भन्ने प्रश्न राख्ने गरेका छन् ।

Categorized in संस्कृति