arin enterprises

कुकुर तिहार रिल प्रतियोगिता हुने

SamacharDesk – बिराज | २०८३ कार्तिक १८, मंगलबार

काठमाडौं । नेपालमा पहिलोपटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’ को आयोजना गर्न लागेको हो ।

प्रतियोगीतामार्फत् कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध र नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रील तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने पर्यटन बोर्डले जनाएको छ ।

नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारको अवसरमा पूजा गर्ने परम्परा रहेको छ ।

तिहारको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीको दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मीठा परिकार खुवाउने र पूजा गरिन्छ ।

यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोड्दै नेपालको मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्य प्रतियोगिताले राखेको छ ।

प्रतियोगीतामा कसरी भाग लिने

प्रतियोगितामा सहभागी हुनेले तयार पारेको रील अंग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ ।

सहभागीले आफ्नो भिडियो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गरी #NepalFestival र #KukurTihar ह्यासट्याग गर्नुपर्नेछ ।

साथै, इन्स्टाग्राममा @nepaltourism लाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिंक photonepal@ntb.org.np मा इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ ।

प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवर्ध्दन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ ।

कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु प्रस्तुत गरिने छ ।

डिजिटल माध्यममा सिर्जनात्मक सामग्री उत्पादन गर्ने युवाहरू तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित प्रतियोगिताले नेपालको सांस्कृतिक पर्यटन प्रवर्ध्दनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

Categorized in समाज