arin enterprises

मौलिक नेपाली संस्कृतिलाई वेलनेस पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड

SamacharDesk – बिराज | २०८३ कार्तिक २०, बिहिबार

काठमाडौं । नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई वेलनेस पर्यटनको विशिष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्डले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वेलनेस टुरिजम इन नेपालः ग्लोबल पस्र्पेक्टिभ्स एन्ड स्ट्राटेजिक प्रायोरिटिज’ विषयक अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालाले यस्तो जोड दिएका हुन् ।

सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवद्र्धन गर्ने तयारी भइरहेका बेला पर्यटन बोर्डले यो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका सहभागी वक्ताहरूले नेपालको वेलनेस पर्यटनको पहिचान अरू देशको अवधारणाको नक्कल गरेर नभई आफ्नै मौलिक विशेषताका आधारमा निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ निगेल फ्र्याङ्कलिनले नेपालसँग विश्व वेलनेस पर्यटन बजारमा विशिष्ट पहिचान स्थापित गर्न आवश्यक प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक आधार रहेको उल्लेख गरे ।

विश्वका प्रतिष्ठित लक्जरी होटल तथा वेलनेस संस्थाहरूसँगको दुई दशकभन्दा लामो अनुभव बटुलेका फ्र्याङ्कलिनले नेपालको वेलनेस पर्यटन प्रवद्र्धन गर्दा नेपालको मौलिक पहिचानलाई कमजोर बनाउन नहुने धारणा राखे ।

‘नेपालले अरू देशको अवधारणालाई जस्ताको तस्तै अपनाउनु स्वभाविक देखिँदैन । नेपालको आफ्नै संस्कृति, आध्यात्मिकता, परम्परा र प्रकृतिसँग जोडिएको जीवनदर्शन छ । विश्व बजारलाई नेपालले आफ्नै कथा सुनाउनुपर्छ’ फ्र्याङ्कलिनले भने ।

उनका अनुसार विश्व पर्यटन बजारमा वेलनेसको माग बढ्दै गएको अवस्थामा नेपालले आफ्नो सांस्कृतिक र आध्यात्मिक सम्पदालाई पर्यटन अनुभवसँग जोडेर नयाँ पहिचान निर्माण गर्न सक्छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक लक्ष्मण गौतमले नेपालको वेलनेस पर्यटन विकासमा मौलिक सम्पदाको संरक्षण र पर्यटक आगमन वृद्धि तथा पर्यटनबाट प्राप्त हुने आर्थिक लाभबीच सन्तुलन कायम गर्नु मुख्य चुनौती रहेको बताए ।

‘एकातिर हाम्रो प्राचीन सम्पदा, धार्मिक आस्था, संस्कृति र मौलिक पहिचान जोगाउनुपर्ने दायित्व, अर्कोतर्फ पर्यटकको संख्या बढाउने, बसाइ अवधि लम्ब्याउने र पर्यटनबाट प्राप्त हुने लाभ विस्तार गर्नुपर्ने आवश्यकता छ । यी दुई बीच सन्तुलन गर्दै अगाडि बढ्नु आजको मुख्य चुनौती देखिन्छ’ गौतमले भने ।

उनका अनुसार वेलनेस पर्यटनको मूल उद्देश्य मानिसलाई आफैँसँग जोडिन, आफ्नो अस्तित्व बुझ्न र आत्मिक शान्ति प्राप्त गर्न सहयोग गर्नु हो ।

गौतमले नेपालबारे अन्तर्राष्ट्रिय बजारमा अझै पनि हिमाल र पर्वतारोहणकै पहिचान बढी स्थापित रहेको उल्लेख गर्दै वेलनेस पर्यटनमा छुट्टै अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्न नयाँ मानक आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल वेलनेस पर्यटनको विशिष्ट पहिचान, सन् २०२७ को वेलनेस पर्यटन वर्षको तयारी, अन्तर्राष्ट्रिय बजारमा नेपालको ‘पोजिसन’ निर्धारण तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यका प्राथमिकताबारे छलफल भएको थियो ।

अन्तरक्रियामा सरकार तथा निजी क्षेत्रका वेलनेस पर्यटन सम्बद्ध संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका प्रतिनिधिहरूले वेलनेस पर्यटनलाई नेपालको समग्र पर्यटन व्यवसायसँग जोडेर विकास गर्नुपर्ने धारणा राखेका थिए ।

यसका लागि स्पष्ट सन्देश, मौलिक पर्यटन अनुभव र अन्तर्राष्ट्रिय बजार लक्षित प्रभावकारी प्रवर्ध्दन आवश्यक रहेकोमा जोड दिइएको थियो ।

Categorized in बिजनेस