भुवन केसीको ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक
SamacharDesk – विजयरत्न | २०८३ कार्तिक २०, बिहिबार
अभिनेताबाट निर्माता र निर्देशक बनेका भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक भएको छ ।
भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘बाटुलो जून’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरबाट फिल्मको कथा ३०/४० को दशकको ग्रामीण परिवेशमा आधारित देखिन्छ ।
ट्रेलर पूर्णतः अनमोल केसी र प्रिन्सी खतिवडामा केन्द्रित छ ।
गाउँका शिक्षक काजी पात्रको भूमिकामा रहेका अनमोलको प्रिन्सीसँग माया बस्छ । तर, अनमोलको परिवार भने उनीहरूको सम्बन्धको पक्षमा छैन । यस्तो अवस्थामा उनीहरूको प्रेमले पूर्णता पाउला ? ट्रेलरले छाडेको मुख्य रहस्य यही हो ।
ट्रेलरमा भुवन केसी र गरिमा पन्त पनि देखिएका छन् । उनीहरूको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सीले अभिनय गरेका छन् । बुबाको भूमिकामा देखिन अनमोलले जुँगा समेत पालेका छन् ।
समग्रमा ट्रेलरले क्लासिक लभस्टोरीको झल्को दिएको छ । फिल्मले मिलेनियल्स (जेन वाइ) र जेन एक्स पुस्ताका दर्शकलाई पुराना दिनको सम्झना गराउने देखिन्छ ।
भुवन केसीको निर्देशनमा बनेको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी, संगी अधिकारीलगायतका कलाकारको पनि अभिनय छ ।
सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन् ।
Categorized in पेजथ्री




