रुसका बिद्रोही कवि लोर्मेन्तोभ र नेपालका महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो
SamacharDesk – विजयरत्न | २०८३ कार्तिक २२, शनिबार
काठमाडौं । रुसका बिद्रोही सशक्त कवि मिखाइल लोर्मेन्तोभको २१२औं र नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती मनाइएको छ ।
नेपाल रुस साहित्य समाज तथा रुसी सदन, काठमाडौँले रुसी सदनमा दुवै कविको जन्मजयन्तीको अवसर पारेर एक काव्यिक साँझको आयोजना गरेको हो ।
उक्त काव्यिक साँझमा इञ्जिनियर कन्हैया नास्नानीको ‘मरिना आज उदास छे’ र डा. नारायणभक्त श्रेष्ठ कृत ‘दुई देश एक आत्मा’ लोकार्पण पनि गरिएको थियो । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाई लगायतले उक्त कृतिको लोकार्पण गरेका थिए ।
कार्यक्रममा नेपाल रुस साहित्य समाजका अध्यक्ष इञ्जिनियर विष्णुबहादुर सिँह, रुसी सदनका प्रमुख अन्स्थासिया खोक्लोभा, नेरुसासका उपाध्यक्ष इञ्जिनियर चन्द्रकान्त आचार्य, महासचिव इञ्जिनियर रामविन्दु श्रेष्ठले महाकवि देवकोटा र रुसका विद्रोही कवि लेर्मोन्तोभका कविता वाचनका साथै उनीहरूको कृतित्वमाथि प्रकाश पारेका थिए ।
समारोहमा कविहरू लक्ष्मी माली, डा.नारायणभक्त श्रेष्ठ, विमला तुम्खेवा, इञ्जिनियर सुशील सिग्देल, स्नेह सायमी, डा. अरूणा उप्रेती, दिलिप श्रेष्ठ, प्रेममान डङ्गोल, जेठा बैरागी, रश्मि रिमाल, विप्लव प्रतीक तथा डा. शशी थापा पण्डितले कविता वाचन गरेका थिए ।
कार्यक्रममा रुसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो ।
Categorized in पेजथ्री




