निर्देशक कार्कीको जन्मजयन्ती मनाइयो
SamacharDesk – विजयरत्न | २०८३ कार्तिक २३, आइतबार
काठमाडौं । नेपाली गीत, साहित्य तथा चलचित्र क्षेत्रका बहुआयामिक व्यक्तित्व स्वर्गीय चेतन कार्कीको ८९औँ जन्मजयन्ती मनाइएको छ ।
स्वर्गीय कार्कीको जन्मजयन्तीको अवसरमा चेतन कार्की स्मृति समाजले राजधानीमा विशेष समारोहको आयोजना गरेको हो ।
कार्यक्रमको सुरुमा एक मिनेट मौनधारण गरी दिवंगत कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले कार्कीसँग चलचित्रमा काम गर्दाका अनुभव साझा गरेकी थिइन् ।
समाजका उपाध्यक्ष मोहन निरौला, डा गणेश गुरुङ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकार श्रीपुरुष ढकाल र स्वर्गीय कार्कीकी धर्मपत्नी गंगा कार्कीले कार्कीको राष्ट्रप्रेम, सरल जीवनशैली र सिर्जनात्मक योगदानबारे चर्चा गरे ।
त्यस्तै साहित्यकार राधेश्याम लेकालीले कार्कीका मुक्तकहरू प्रस्तुत गरेका थिए । वरिष्ठ कलाकार टीका पहाडीले कार्कीले आफूलाई चलचित्र अभिनयका लागि बम्बई पठाउँदा लेख्नुभएको पुरानो पत्र वाचन गर्दै सुनाएका थिए ।
त्यसैगरी, ऋतु कँडेल र गीता पाण्डेले कार्कीका चर्चित गीतहरू प्रस्तुत गरेका थिए ।
समाजकी अध्यक्ष एवं अभिनेत्री मिथिला शर्माले कार्कीलाई राष्ट्र र समाजका लागि समर्पित एक विलक्षण स्रष्टाका रूपमा स्मरण गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जीवनभर सिर्जना र सेवामा समर्पित रहेको उल्लेख गरिन् ।
कार्यक्रममा रेडियो आहाका प्रबन्ध निर्देशक हेम सुवेदी, निर्देशक आकृति सुवेदी घिमिरे, गीतकार सघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा लगायत कलाकार तथा सन्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो ।
विश्वास, कान्छी, कन्यादान जस्ता सुपरहिट चलचित्रमा गीत लेखेका कार्कीले विश्वास ,भुमरी र पहिलो प्रेम चलचित्रको निर्देशन गरेका थिए । निर्देशक चेतन कार्कीले उक्त चलचित्रका लागि गीतहरु पनि रचना गरेका थिए ।
बैनीको दया छ भने र तीजको रहर उहाँको सर्वकालीन लोकप्रिय गीत मानिन्छ ।
Categorized in पेजथ्री





