नेपाल संवत् ११४७ को क्यालेन्डर विमोचन बालबालिकाहरुबाट
SamacharDesk – विजयरत्न | २०८३ मङ्सिर २, मंगलबार
काठमाडौं/नेवाः देय् दबू काठमाडौं महानगरपालिका वडा नं. २५ समितिबाट नेपाल संवत् ११४७ न्हूदँ (नयाँ वर्ष) को शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
सो कार्यक्रममा नेपाल सम्वत ११४७ को क्यालेन्डर समेत सार्वजनिक गरिएको थियो ।
सामान्यतया पुस्तक, स्मारिका वा कुनै क्यालेन्डरको विमोचन वा लोकार्पण कुनै नेता वा ठुलाबडा, वरिष्ठ व्यक्तित्वहरुबाट हुने गरेकोमा यस कार्यक्रममा भने यस्तो परम्परालाई तोडेको छ ।
यस किसिमको परम्पराभन्दा फरक र नयाँ ढङ्गले नेपाल संवत् ११४७ को क्यालेन्डर बालबालिकाहरुको हातबाट विमोचन गरिएको थियो ।
यो विशेष पहलले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानप्रति जिम्मेवार बनाउनुका साथै सांस्कृतिक अभियानको नेतृत्व तहसम्म पुर्याउनुपर्ने सन्देश दिन खोजेको देय् दबू २५ वडा समितिका अध्यक्ष मनोजमान कर्माचार्यले बताए ।
त्यसैगरी देय् दबूका केन्द्रीय सचिव श्रीजनमान श्रेष्ठले कार्यक्रमले समाजमा एउटा महत्वपूर्ण सन्देश दिएको दावी गरे ।
‘संस्कृतिको संरक्षण भाषणले मात्र होइन, पुस्तान्तरणले हुन्छ । आजका बालबालिका भोलिका संस्कृतिका संवाहक र समाजका नेतृत्वकर्ता हुन् । यहि सन्देश आजको कार्यक्रमले समाजलाई दिन खोजेको पाएँ’ सचिव श्रेष्ठले भने ।
कार्यक्रममा मिसा दबूकी रमिता बज्राचार्य, स्थानीय बौद्धिक व्यक्तित्वहरू प्रबोध वीर सिंह कसाः, रोशन शाक्य तथा पूर्व वडाध्यक्ष बाबुराजा महर्जन लगायतले नेपाल संवतको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे प्रकाश गर्दै आ–आफ्ना विचार राखे ।
वक्ताहरूले नेपाल संवत् केवल समय गणना गर्ने संवत् मात्र नभई नेवाः समुदायको ऐतिहासिक पहिचान, मौलिकता र गौरवसँग जोडिएको राष्ट्रिय सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजसेवी बिमला मानन्धरले नेपाल सबत र यसका प्रवर्तक संखधर साख्वाःको बारे कबिता बाचन गरेकी थिइन् भने साहिना शाक्य र मिरिका उदासले नृत्य प्रस्तुत गरेकी थिइन् ।
Categorized in समाज





